नयाँ वर्षको उपलक्ष्यमा बैशाख १ देखि १५ सम्म ५ सय रुपैयाँमै स्काइवाक चढ्न पाइने

काठमाडौं । नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा काठमाडौंको कमलादीस्थित स्काईवाक नेपालले आकर्षक छुटको अफर ल्याएको छ । स्काईवाक नेपालले सीमित समयका लागि ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने भएको हो । अर्थात् पहिले स्काइवाक चढ्नको लागि एक हजार रुपैयाँ लाग्थ्यो भने अब ५ सय रुपैयाँमा नै चढ्न पाइनेछ । यो अफर वैशाख १ देखि १५ गतेसम्म मात्र लागू हुनेछ ।

‘नयाँ वर्षलाई विशेष बनाउन यो अफर ल्याइएको हो । सामान्य टिकट मूल्यमा आधा छुट पाएपछि धेरै परिवार, साथिभाई र पर्यटकले यो ठाउँ घुम्न सजिलो हुनेछ । साथै नयाँ वर्षमा क्वालिटी टाइम पनि विताउन सकिन्छ ।’स्काईवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए ।

स्काईवाक नेपाल हरेक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहन्छ । टिकट टावरमै किन्न सकिन्छ । १३ रोपनीमा निर्माण भएको ७८ दशमलव ५ मिटर अग्लो स्काइवाक टावर बाहिरी जिल्ला तथा विदेशबाट काठमाडौँ आउनेका लागि प्रमुख गन्तव्य बनेको छ । स्काइवाक साहसिक गतिविधिका लागि मात्रै होइन, काठमाडौँका एतिहासिक स्थलको जानकारी लिनका लागि पनि उपयुक्त गन्तव्य हो ।

यहाँबाट एतिहासिक घण्टाघर, त्रिचन्द्र क्याम्पस, रानीपोखरी, दरबार हाइस्कुल, टुँडिखेल, धरहरा, शहीदगेट, सिंहदरबारलगायतका स्थानको अवलोकन गर्न सकिन्छ । टावरको २५औँ तलामा स्काइवाक ९सिसा ओछ्याइएको भूँइ०मा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा आकाशमा हिँडे जस्तो अनुभव हुन्छ । साहसिक गतिविधि मन पराउनेका लागि स्काइवाक काठमाडौँको प्रमुख गन्तव्य बनेको प्रवन्ध निर्देशक बिष्णुहरि पाण्डेले बताए ।

स्काइवाकमा प्रती बर्गमिटर पाँच सय किलो भार बहन क्षमताको गुणस्तरीय सिसाको प्रयोग गरिएको छ । विभिन्न स्काइवाक निर्माण गर्दा जमिनबाट ३५ मिटर तलसम्म ५८ वटा फलामका डण्डीहरु राखिएको छ । टावरको माथि पुग्नका लागि दुई वटा लिफ्ट बनाइएको छ भने एकै पटक ४५ जनासम्म माथि जान सकिन्छ । साथै स्काइवाकको माथिल्लो भागमा एकैपटक ५०० जनासम्म अट्नसक्ने कम्पनीको भनाइ छ ।

पछिल्लो समय जमघटको थलो बनेको यो ठाउँमा स्काइवाकबाहेक पनि विभिन्न सुविधा छन् । टावर परिसरमा साना कार्यक्रम गर्न एमपी थिएटरको पनि सुविधा छ । कम्पनीका अनुसार स्काइवाक सूर्योदय र सूर्योस्तको दृश्यावलोकन तथा योगा गर्नेका लागि पनि उपयुक्त थलो हो ।

“यो धरहराभन्दा १६ मिटर अग्लो छ, यहाँबाट काठमाडौँको ३६० डिग्रीको दृश्यावलोकन गर्न सकिन्छ, त्यसबाहेक एकै ठाउँबाट काठमाडौँ सहर हेर्दै जानकारी लिनका लागि पनि उपयुक्त गन्तव्य हो”, प्रबन्ध निर्देशक पाण्डेले भने ।

You might also like

Comments are closed.