स्पोटर्स अवार्डको रौनकसँगै गण्डकीमा जुर्मुराउँदो खेल पर्यटन

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १० औं रारा पोखरा स्पोटर्स अवार्डको पूर्व सन्ध्यामा गण्डकीमा खेल पर्यटनको चर्चा सुरु गरिएको छ ।

मञ्चले बुधबार ‘पोखरा पर्यटन खेलकुद सम्मेलन’ विषयक सत्र सञ्चालन गरी गण्डकी प्रदेशमा खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त सम्भावना भए पनि राज्यको स्पष्ट नीति र लगानीको अभाव रहेको विषयमा छलफल गरिएको छ । उक्त सत्रमा पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, स्काई डाइभ पाइलट यशोदा केसी थापा, प्रदेश खेलकुद परिषद्, गण्डकीका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङ र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशीसँग पत्रकार सन्देश श्रेष्ठले छलफल गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले गण्डकी क्षेत्रको विकासका लागि नीतिगत झन्झट र पूर्वाधारको कमी मुख्य चुनौती रहेको बताएका थिए । सम्मेलनमा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशीले खेल पर्यटकले सामान्य पर्यटकभन्दा १० देखि १०० गुणा बढी खर्च गर्ने तथ्य प्रस्तुत गरे । उनले पर्यटन बोर्ड र खेलकुद निकायबीच समन्वय गरी ‘स्पोट्र्स क्यालेन्डर’ बनाउन सुझाव दिए ।
प्रदेश खेलकुद परिषद्का संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदमा राज्यको लगानी न्यून रहेको र मन्त्रालयहरूबीच समन्वयको अभावले लगानी प्रभावकारी हुन नसकेको बताए ।

पोखरा भ्रमण वर्षका संयोजक गोपिबहादुर भट्टराईले पोखरालाई ‘स्पोट्र्स ब्रान्डिङ’ गर्न सरकारी स्तरबाटै ‘स्पोट्र्स डेस्क’ आवश्यक रहेको औंल्याए । साहसिक खेल क्षेत्रबाट स्काई डाइभ पाइलट यशोदा केसी थापाले कानुनी जटिलता र उपकरणमा लाग्ने उच्च करका कारण साहसिक पर्यटनले गति लिन नसकेको गुनासो गरिन् ।

गण्डकीलाई विश्व खेल पर्यटनको मानचित्रमा स्थापित गर्न निजी क्षेत्रको उत्साहलाई राज्यले नीतिगत सहजता, गुणस्तरीय पूर्वाधार र प्रभावकारी समन्वयमार्फत सम्बोधन गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित शेरचनले प्रदेशको समग्र विकासका लागि खेलकुद र पर्यटनलाई एकीकृत गर्दै दीर्घकालीन नीति निर्माणमा जोड दिइने बताए । उनले अहिलेको व्यक्तिगत स्वार्थ वा पहुँचमा आधारित नीतिगत बेथितिहरूलाई अन्त्य गरी संस्थागत र ५० वर्षपछिको भविष्यलाई समेत दृष्टिगत गरेर योजना बनाउनुपर्ने धारणा व्यक्त गरे ।

मन्त्री शेरचनले गण्डकी प्रदेशमा पर्यटन र खेलकुदका क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेको उल्लेख गर्दै त्यसका लागि नीतिगत फड्को मार्नुपर्ने आवश्यकता रहेको औंल्याए । उनले पर्यटन व्यवसायी र खेलकुदका सरोकारवालाहरूबाट प्राप्त हुने ठोस र एकीकृत सुझावलाई प्रदेश सरकारले आफ्नै योजनाका रूपमा स्वीकार गर्ने प्रतिबद्धता जनाए । बजेट विनियोजन गर्दा पहुँचका आधारमा नभई वास्तविक आवश्यकता र विस्तृत सर्वेक्षणका आधारमा गरिने उनको भनाइ थियो ।

प्रदेशको पर्यटकीय सम्भावनाबारे चर्चा गर्दै मन्त्री शेरचनले बाग्लुङको ढोरपाटनमा घोडा दौड र स्केटिङ जस्ता खेलहरुको प्रवद्र्धन गर्न सकिने बताए । त्यस्तै, मुस्ताङको मुक्तिनाथ क्षेत्र नजिकै रहेको जग्गालाई खेलकुद समितिको भोगाधिकारमा ल्याएर गल्फ कोर्स निर्माण गर्ने प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिए । मन्त्री शेरचनले आगामी नीति र बजेटमा सबै क्षेत्रको एकीकृत सुझाव समेटेर अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।

गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले गण्डकी प्रदेशलाई खेल पर्यटनको प्रमुख हबका रूपमा विकास गर्न सञ्चार क्षेत्रले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन् । उनले खेलकुद र पर्यटनलाई एकीकृत गरेर लैजाँदा प्रदेशको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताइन् ।

भण्डारीले पोखरालाई पर्यटकीय राजधानीका रुपमा मात्र नभई समग्र गण्डकी प्रदेशलाई नै खेल पर्यटनको केन्द्र बनाउन मिडिया मार्केटिङ र ब्रान्डिङ आवश्यक रहेको औंल्याइन् । उनले पर्वतको बन्जीदेखि गोरखा, मनाङ र मुस्ताङका साहसिक खेल क्षेत्रहरूलाई विश्व बजारमा चिनाउन पत्रकारिताले सेतुको काम गर्नुपर्ने धारणा राखिन्। खेलकुद पत्रकारिता अब हार र जितको तथ्यांकमा मात्र सीमित नभएर पर्यटन प्रवद्र्धनको बलियो औजार बन्नुपर्ने उनको तर्क थियो ।

प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकारिताका माध्यमबाट समाज विकास र समृद्धिका लागि सधैं अभिभावकीय भूमिका निर्वाह गर्ने बताउँदै उनले फिचर लेखनका माध्यमबाट खेल पर्यटनका सम्भावनाहरू उजागर गर्न पत्रकारहरूलाई आग्रह गरिन् । यसका साथै, अबको पत्रकारिता डिजिटल युगमा प्रवेश गरिसकेकाले प्रविधिको प्रयोग गर्दै नयाँ ढंगले अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् । कार्यक्रममा भण्डारीले खेलकुदका हरेक गतिविधि र मञ्चहरु समावेशी हुनुपर्ने र महिलाहरुको सक्रिय सहभागिता बिना कुनै पनि क्षेत्रले पूर्णता नपाउने बताइन् । यस्ता बहस र छलफलले राज्यलाई खेल पूर्वाधारमा लगानी गर्न र स्पष्ट नीति निर्माण गर्न दबाब दिने उनको विश्वास थियो । आगामी दिनमा खेल र पर्यटनलाई जोड्ने यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने बताउँदै उनले सञ्चार क्षेत्रले सधैं समृद्धिको यात्रामा साथ दिने प्रतिबद्धता व्यक्त गरिन् ।

१० औं स्पोर्ट्स अवार्डमा १० जनालाई सम्मान
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने पोखरा स्पोर्टस् अवार्डको १० औं संस्करणमा १० जना व्यक्तिहरुलाई सम्मान गरेको छ ।
बुधबार आयोजना गरिएको पोखरा पर्यटन खेलकुद सम्मेलन’ मा संस्थागत विकासमा योगदान पु¥याएका पूर्व अध्यक्ष एवं पोखरा स्पोट्र्स अवार्डका संस्थापकलाई सम्मान गरेको हो । संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पर्व अध्यक्षहरु मोहन घले, विनोद लामिछाने, प्रेमरानायण न्यौपाने, केशव पाठक, एकराज गिरी, दीननाथ बराल र पोखरा स्पोर्ट्स अवार्डका परिकल्पनाकार सन्देस श्रेष्ठलाई सम्मानपत्र सहित दोसल्ला र माला लगाएर सम्मान गरिएको हो । संस्थातर्फ सहारा क्लब पोखरा र टाइगर ग्रुप अफ पोखरालाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचन र मञ्चका अध्यक्ष एमबी आस्था मगरले सम्मान गरेका हुन् ।
कार्यक्रमा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश, हिमश्री फुड्स प्रालि र गुरुङ गहना घर प्रालिलाई कदर पत्रले सम्मान गरेका थियो ।
मञ्चले पोखरा इभेण्ट सेन्टरमा विहिबार १० औं संस्करणको रारा पोखरा स्पोट्र्स अवार्ड आयोजना गर्दैछ ।

You might also like

Comments are closed.