म सन् २०१० देखि लायन्स क्लब्स इन्टरनेशनलमा आबद्ध भएर निरन्तर सामाजिक सेवामा सक्रिय छु । विगत डेढ दशकदेखि शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा मानवीय सेवाका विभिन्न अभियानहरूमा मैले नेतृत्वदायी र सहयोगी भूमिका निर्वाह गर्दै आएकी छु । लायन्सले मलाई निस्वार्थ सेवा, कुशल नेतृत्व र मानवीय संवेदनशीलताको गहिरो अनुभूति गराएको छ ।

नेपालमा लायन्स मल्टिपल काउन्सिल चेयरपर्सन बन्ने पहिलो महिला हुनुहुन्छ, यो ऐतिहासिक उपलब्धिमा कस्तो अनुभूति भइरहेको छ ?
नेपालमा मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको इतिहासमै पहिलो महिला मल्टिपल काउन्सिल चेयरपर्सन बन्न पाउनु मेरो व्यक्तिगत खुसी मात्र होइन, सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूका लागि गर्व र प्रेरणाको विषय हो । यो जिम्मेवारीले ‘महिलाहरूले अवसर पाए नेतृत्वको सर्वोच्च तह पनि सफलतापूर्वक सम्हाल्न सक्छन्’ भन्ने बलियो सन्देश समाजमा दिएको महसुस गरेकी छु । यसले मलाई अझ बढी जिम्मेवार बनाएको छ ।
मल्टिपल काउन्सिलले सबै डिष्ट्रिक्टहरूबीच बलियो सहकार्य, नीतिगत एकरूपता र सुमधुर समन्वय कायम गर्ने मुख्य कार्य गर्दछ । हामीले नियमित बैठकहरू, रणनीतिक नीति निर्माण, उच्च स्तरीय नेतृत्व विकास तालिम, संयुक्त सेवा कार्यक्रम तथा अन्तर–डिष्ट्रिक्ट सहकार्यका माध्यमबाट १५ वटै डिष्ट्रिक्टलाई एउटै उद्देश्य र ‘हामी सेवा गर्छौं’को साझा भावनामा जोडेर अगाडि बढाइरहेका छौं ।
लायन्स क्लब्स इन्टरनेशनल अन्तर्गत नेपाल दक्षिण एशियामै सबैभन्दा सक्रिय, ऊर्जाशील र तीव्र रूपमा विस्तार भइरहेको लायन्स समुदायमध्ये एक हो । हाल नेपालभर हजारौंको संख्यामा सेवाभावी र सक्रिय लायन्स सदस्यहरू तथा सयौं क्लबहरू गाउँ–गाउँदेखि सहरसम्म मानवीय सेवामा अहोरात्र खटिएका छन् ।
लायन्सले नेपालमा स्वास्थ्य, शिक्षा र विपद् व्यवस्थापनमा क्रान्तिकारी काम गरेको छ । देशव्यापी स्वास्थ्य शिविर, निःशुल्क आँखा उपचार तथा शल्यक्रिया, रक्तदान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, विद्यालय भवन निर्माण, स्वच्छ खानेपानी आयोजना, वातावरण संरक्षण (वृक्षरोपण) र महिला तथा बालबालिका केन्द्रित दीर्घकालीन कार्यक्रमहरू यसका उदाहरण हुन् । विशेष गरी महाभूकम्प, कोभिड महामारी र विनाशकारी बाढीपहिरो जस्ता राष्ट्रिय विपद्का समयमा लायन्स सधैं अग्रपंक्तिमा रहेर राहत र पुनस्र्थापनामा जुटेको छ ।
अहिले लायन्समा महिलाहरूको सहभागिता परिमाणात्मक र गुणात्मक दुवै रूपमा उल्लेखनीय ढंगले बढिरहेको छ । सामान्य सदस्यतादेखि लिएर क्लब, डिष्ट्रिक्ट र मल्टिपलको सर्वोच्च नेतृत्व तहसम्म महिलाहरू सक्रिय रूपमा अगाडि आउनुभएको छ । महिला नेतृत्वले संस्थामा थप संवेदनशीलता, पारदर्शिता र दृढता थपेको छ, जसले लायन्सलाई अझ सशक्त बनाएको छ ।
अवश्य पनि, महिला सशक्तीकरण हाम्रो प्रमुख प्राथमिकता हो । हामीले महिला नेतृत्व विकास, उद्यमी बन्न चाहनेहरूका लागि सीपमूलक तालिम, व्यावसायिक सचेतना, स्वास्थ्य एवं कानुनी साक्षरता र आत्मनिर्भरता सम्बन्धी थुप्रै कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । महिलाहरूलाई नेतृत्वदायी भूमिकामा आउन प्रोत्साहन गर्ने र अनुकूल वातावरण सिर्जना गर्ने काममा हामी निरन्तर लागिपरेका छौं ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लायनिजमलाई निकै उच्च र सकारात्मक रूपमा हेरिन्छ । सदस्य विस्तार, सेवाको प्रभावकारिता, पारदर्शी कार्यशैली र नेतृत्व विकासमा नेपालले हासिल गरेको प्रगति विश्वभरकै लायन्सका लागि उदाहरणीय छ । नेपाली लायन्सहरूको अविचलित समर्पण र सेवाभावलाई लायन्स इन्टरनेशनलले सधैं प्रशंसा र सम्मान गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय लायन्समा नेपालले आफ्नो बलियो र प्रभावशाली उपस्थिति स्थापित गरिसकेको छ । अन्तर्राष्ट्रिय नेतृत्वका पदहरूमा नेपाली लिडरहरूको सफल सहभागिता, ठूला र बहुवर्षीय सेवा परियोजनाहरूको सफल कार्यान्वयन र सक्रिय सदस्यताका कारण नेपालको साख अन्तर्राष्ट्रिय स्तरमा निकै मजबुत छ । नेपाललाई एक ऊर्जाशील र परिपक्व लायन्स देशका रूपमा चिनिन्छ ।
यस वर्ष हामीले विशेष गरी विपद् प्रभावितहरूको दीर्घकालीन पुनःस्थापना, सर्वसुलभ स्वास्थ्य सेवा, युवा तथा महिला नेतृत्व विकास, जलवायु परिवर्तन र वातावरण संरक्षण, एवं अन्तर–डिष्ट्रिक्ट सहकार्यलाई प्राथमिकता दियौं । यसका साथै, डिजिटल प्रविधिको प्रयोगमार्फत संस्थागत सुशासन र लायन्सको सामाजिक छविलाई थप पारदर्शी र उचो बनाउने कार्यहरू भएका छन् ।
कार्यकालको यो अन्तिम चरणमा मेरा मुख्य तीनवटा प्राथमिकता छन्, पहिलो, सुरु गरिएका ठूला सेवा परियोजनाहरूलाई सफलतापूर्वक सम्पन्न गरी दीर्घकालीन रूप दिने । दोस्रो, संस्थागत एकता र सुशासनलाई अझ मजबुत बनाउने । तेस्रो, आगामी नयाँ नेतृत्वलाई एउटा व्यवस्थित, सुदृढ र सफल कार्यदिशासहितको जिम्मेवारी मर्यादित रूपमा हस्तान्तरण गर्ने ।
लायन्स केवल एउटा सामाजिक संस्था मात्र होइन, यो त निस्वार्थ सेवाको संस्कार र मानवताको महाअभियान हो । म सम्पूर्ण लायन्स साथीहरूलाई संकुचित घेराभन्दा माथि उठेर, एकताबद्ध भई समाजको हितमा लाग्न अनुरोध गर्दछु । हाम्रो सानो प्रयासले पनि कसैको जीवनमा उज्यालो ल्याउन सक्छ । हामी सेवा गर्छौं भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आफ्नो समाज र राष्ट्रको विकासमा निरन्तर योगदान गरिरहन पनि सबैमा आह्वान गर्दछु ।







Comments are closed.