काठमाडौं । पछिल्ला दिनमा केही अनधिकृत व्यक्ति तथा ठगी गिरोहले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नाममा ग्राहकलाई फोन गरी KYC Update गर्ने भन्दै ठेगाना, ईमेल, बैंक खाता नम्बर लगायत व्यक्तिगत विवरण माग्ने, Whatsapp, Viber, Messenger जस्ता सञ्चार प्लेटफर्ममा कल गर्ने तथा अनधिकृत तवरले OTP पठाई सो OTP माग्ने, स्क्रीन शेयर गर्न लगाउने, अनधिकृत एप इन्स्टल गर्न लगाउने, अनधिकृत लिङ्क (Phising Link) पठाई क्लिक् गर्न लगाउने, झुटा अफर तथा योजनाको बारेमा बताई आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधि गरिरहेको सूचना प्राप्त भएपछि यसतर्फ बैंकको गम्भीर ध्यानाकर्षण भएको बैंकले छ ।
यस सन्दर्भमा राष्ट्रिय वाणिज्य बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा KYC Update होस् वा अन्य कुनैपनि प्रयोजनका लागि कहिल्यै पनि फोन, इमेल, सामजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटिएम् पिन, मोबाइल बैंकिङ तथा ई- बैंकिङका ओटिपि, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण नमागिने बैंक स्पष्ट पार्न चाहन्छ ।
बैंकले ग्राहकलाई अनधिकृत रुपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न अनुरोध गरेको छ । यदि कहिंकतै कुनै माध्यमबाट शंकास्पद गतिविधि भए गरेको पाईएमा नजिकैको शाखा कार्यालय वा बैंकका आधिकारिक सम्पर्क नम्बरमा मात्र सम्पर्क गरी जानकारी गराउन साथै बैंकको आफ्नै वेबसाइटबाट प्रकाशित हुने बैंकका आधिकारिक सूचना मात्र फलो गर्न पनि बैंकले आग्रह गरेको छ ।
बैंकले ग्राहकको सुरक्षित बैंकिङ कारोबारका लागि प्रतिबद्ध रहँदै आएको र यस्ता ठगीजन्य क्रियाकलाप विरुद्ध सचेत एवं सजग रहन सम्पूर्ण ग्राहकलाई आह्वान गरेको छ ।







Comments are closed.