इलेक्टिक फोर–ह्विल ड्राइभ पिकअप ‘म्याक्सस इ–टेरोन ९ कम्फर्ट’ सार्वजनिक

काठमाडौँ । चीनको एसएआईसी ग्रुप अन्तर्गतको म्याक्सस ब्राण्डका सवारी साधनको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रा.लि.ले नयाँ शक्तिशाली इलेक्टिक फोर–ह्विल ड्राइभ पिकअप ‘म्याक्सस इ–टेरोन ९ कम्फर्ट’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले यो पिकअपको सुरुवाती मूल्य ८८ लाख रुपैयाँ निर्धारण गरेको छ । यो विशेष मूल्य योजना पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । हिमालय मोट्रक्सले यसअघि नै यही मोडलको प्रिमियम संस्करण बजारमा ल्याइसकेको छ, जसको हालको मूल्य रु. १ करोड २८ लाख छ ।

कार्यक्रममा बोल्दै हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले नेपालको कठिन भौगोलिक अवस्था, उकालो–ओरालो र कच्ची बाटोलाई ध्यानमा राखेर यो शक्तिशाली विद्युतीय पिकअप भित्र्याइएको जानकारी दिए ।

‘नेपाली बजारमा व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि बलियो, प्रविधियुक्त र बढी रेन्ज दिने विद्युतीय पिकअपको माग बढ्दै गएको छ,’ अध्यक्ष ध्रुव थापाले भने, ‘यो गाडीले नेपाली उपभोक्ताको सोही आवश्यकतालाई पूरा गर्नेछ । गाडी बिक्री गर्नु मात्र हाम्रो उद्देश्य होइन, हामीले बिक्रीपछिको गुणस्तरीय सेवा (आफ्टर सेल्स सर्भिस) र स्पेयर पाट्र्सको उपलब्धतालाई पनि उत्तिकै प्राथमिकता दिएका छौँ ।’

शक्तिशाली ब्याट्री र उत्कृष्ट कार्यक्षमता

दैनिक यात्रा, लामो दूरीको ड्राइभ र व्यावसायिक प्रयोजनका लागि उपयुक्त यस पिकअपमा उच्च प्रविधि र शक्तिशाली ब्याट्री क्षमता जोडिएको छ । १०२.२ किलोवाट क्षमताको ब्याट्री राखिएको छ । जुन नेपाल आयात हुने विद्युतीय सवारी साधनहरूमध्ये सबैभन्दा ठूलो ब्याट्री प्याक हो । यसले एकपटकको पूर्ण चार्जमा एनइडीसी मापदण्ड अनुसार ५६० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ ।

११५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले यसको ब्याट्रीलाई करिब ४२ मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । गाडीको अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट गरी दुईवटा मोटर जडान गरिएका छन् । यसले कुल ७०० एनएम टर्क उत्पादन गर्छ । यो गाडीले ५.८ सेकेन्डमै ० देखि १०० किमी÷घण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १९० किमी/घण्टा छ । गाडीको सामान बोक्ने क्षमता (पेलोड) १,०५० केजी र तान्ने क्षमता (टोइङ) ३,५०० केजी छ, जुन यस सेग्मेन्टमै सबैभन्दा बढी हो ।

नेपालका हिमाली, पहाडी, हिलो तथा ढुङ्गे बाटोहरूमा सजिलै चलाउन सकिने गरी गाडीमा विशेष प्रविधि दिइएको छ । गाडीमा २६० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ । यसको एप्रोच एंगल २९ डिग्री र डिपार्चर एंगल २५ डिग्री छ । डबल विशबोन फ्रन्ट सस्पेन्सन, मल्टी–लिङ्क इन्डिपेन्डेन्ट रियर सस्पेन्सन र अल–टेरेन सिस्टमले चालक तथा यात्रुलाई स्थिर र आरामदायी यात्रा गराउँछ ।

अत्याधुनिक क्याबिन र अन्तर्राष्ट्रिय सुरक्षा

५ जना यात्रुका लागि तयार पारिएको क्याबिनमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १२.३ इन्चको सेन्ट्रल टचस्क्रिन, ६ तरिकाले मिलाउन सकिने इलेक्ट्रिक ड्राइभर सिट, अटोमेटिक एयर कन्डिसनिङ र पछाडि छुट्टै एसी आउटलेट राखिएका छन् । कि–लेस इन्ट्री÷स्टार्ट, अटोमेटिक हेडलाइट, वान–टच पावर विन्डो र बाहिरी विद्युतीय उपकरणहरू चलाउन मिल्ने सुविधा समेत उपलब्ध छ । यस पिकअपले प्रतिष्ठित युरो एनक्यापबाट ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ ।

बिक्री तथा सर्भिस सञ्जाल

कम्पनीका प्रबन्ध निर्देशक सौरभ थापाका अनुसार हाल काठमाडौँ र पोखराबाट यस गाडीको शोरुम बिक्री वितरण भइरहेको छ भने देशका प्रमुख ६ शहरहरूमा सर्भिस आउटलेटहरू सञ्चालनमा आइसकेका छन् ।

साथै, कम्पनीले आगामी नाइमा मोविलिटी शोमा म्याक्ससकै लक्जरी माइक्रोबस सार्वजनिक गर्ने तयारी छ । विगत १० वर्षदेखि फोर्स मोटर्सको नेपालका लागि आधिकारिक वितरक रहँदै आएको यो समूहले निकट भविष्यमै चीनको प्रख्यात डङफेङ ब्राण्डका विभिन्न सिरिजका बसहरू समेत नेपाली बजारमा ल्याउने जानकारी दिएको छ ।

You might also like

Comments are closed.