काठमाडौं। जिल्ला होटल व्यवसायी संघ काठमाडौंको टोलीले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौंडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री पौडेलले पर्यटन क्षेत्रलाई व्यवस्थित, व्यवसायमैत्री तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताए। सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन उद्योगका समस्या समाधानमा केन्द्रित रहेको उल्लेख गर्दै उनले व्यवसायीका सुझावलाई नीति निर्माणमा समेटिने बताए ।
होटल व्यवसायले उद्योगसरह सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने वातावरण निर्माण, होटल व्यवसायीलाई मन्त्रालयबाट उपलब्ध गराउन सकिने अनुदानका कार्यक्रम तथा पर्यटन क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउने नीतिगत सुधारका विषयमा समेत छलफल भइरहेको उनले बताए।
मन्त्री पौंडेलका अनुसार होटल क्षेत्रमा प्रयोग हुने विद्युत्मा लगाइएको कर हटाउने विषयमा समेत सम्बन्धित निकायसँग छलफल भइरहेको छ। पर्यटन उद्योगको विकासका लागि कर, लगानी तथा सञ्चालनसँग सम्बन्धित नीतिगत सुधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको उनको भनाइ थियो।
त्यसैगरी, उनले होटल व्यवसायीलाई पर्यटन विभागमा अनिवार्य रूपमा दर्ता हुन सुझाव दिँदै सरकारले निर्धारण गरेका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरे।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी तथा यात्रु व्यवस्थापन प्रभावकारी बनाउन पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ। केही ट्याक्सी चालक तथा अनधिकृत व्यक्तिहरूले विदेशी पर्यटकलाई गलत सूचना दिने, बढी भाडा असुल्ने तथा होटल तथा पर्यटन सेवाबारे भ्रम सिर्जना गर्ने गतिविधि बढेकाले यसले नेपालको पर्यटन छविमा नकारात्मक असर परेको र यस्ता गतिविधि नियन्त्रणका लागि कडा अनुगमन, सुरक्षा व्यवस्थापन र प्रभावकारी समन्वय गर्नुपर्ने संघका अध्यक्ष सुरेश बरालले बताए ।
यस्तै, काठमाडौं उपत्यकामा होटल तथा रेस्टुरेन्ट सञ्चालन समय कम्तीमा राति १२ बजेसम्म कायम गर्नुपर्ने माग पनि संघले अघि सारेको छ। हाल राति ११ बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने व्यवस्थाले पर्यटक, होटल व्यवसायी तथा समग्र पर्यटन क्षेत्र प्रभावित भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय उडानको समय र पर्यटकको आवागमनलाई ध्यानमा राखी सञ्चालन समय बढाउनुपर्ने माग संघले गरेको छ।
टोलीमा संघका अध्यक्ष सुरेश बराल, उपाध्यक्ष मनोहरी कँडेल, उपाध्यक्ष जितेन्द्र गिरी, उपाध्यक्ष कुमार श्रेष्ठ, कार्यवाहक महासचिव शिवलाल गिरी, लेखा समिति संयोजक श्याम चौलागाईं, सचिवालय सदस्य खेमराज उप्रेती, सल्लाहकार पी.के.शेर्पा लगायत सहभागी थिए ।



Comments are closed.