चितवन, सौरहा । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौरहामा लामो समयदेखि सञ्चालित बाटिका रिसोर्टको व्यवस्थापन प्यारडाइज इन प्राइभेट लिमिटेडले सम्हाल्ने भएको छ । आगामी जेठ १ गतेदेखि लागू हुने गरी प्यारडाइज इनले रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी लिन लागेको हो ।
वि.सं. २०५५ जेठ १४ (सन् १९९८ मे २८) मा स्थापना भएको बाटिका रिसोर्टले विगत करिब तीन दशकदेखि सौरहाको पर्यटन तथा आतिथ्य क्षेत्रमा योगदान पु¥याउँदै आएको छ । करिब २८ कट्ठा (९,५०१.६४ वर्गमिटर) को फराकिलो क्षेत्रफलमा फैलिएको यो रिसोर्ट पर्यटकीय तथा व्यावसायिक दुवै प्रयोजनका लागि उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ ।
रिसोर्टमा ४० वटा सुविधासम्पन्न कोठाहरू छन् । २०० जना क्षमताको सभा हल, १०० जना क्षमताको इनडोर रेस्टुरेन्ट, गार्डेन रेस्टुरेन्ट, कफी शप, बार तथा स्विमिङ पुलको व्यवस्था छ । गार्डेन रेष्टुरेन्ट विवाह, पार्टी, कर्पोरेट भेला तथा विशेष समारोहका लागि उपयुक्त छ ।
चितवनको पर्यटनको केन्द्र सौरहामा रहेको रणनीतिक अवस्थितिलाई ध्यानमा राख्दै नयाँ व्यवस्थापनले सेवाको गुणस्तर र पाहुनाको अनुभवलाई अझ उत्कृष्ट बनाउने लक्ष्य लिएको छ । प्यारडाइज इनले उच्चस्तरीय आतिथ्य, व्यावसायिक सेवा, इभेन्ट तथा कन्फरेन्स व्यवस्थापनका साथै सौरहालाई आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ बनाउन विशेष प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।

रिसोर्टका सेल्स एण्ड मार्केटिङ हेड दीपक पोखरेलका अनुसार यो रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई अझै परिस्कृत शैलीमा स्तरीय सेवा प्रदान गर्ने बताए । ‘नयाँ व्यवस्थापनको आगमनसँगै बाटिका रिसोर्टले थप ऊर्जा, व्यावसायिक आतिथ्य अभ्यास र सशक्त बजार पहुँचका साथ क्षेत्रीय पर्यटनमा नयाँ सम्भावनाहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ,’ उनले भने । सेल्स एण्ड मार्केटिङ म्यानेजर प्रतिक्षा तामाङले बाटिका रिसोर्टको व्यवस्थापनको जिम्मेवारीसँग आफूहरु उत्साही रहेको बताउँदै पाहुनालाई स्तरीय सेवाको प्रतिबद्धता व्यक्त गरिन् ।



Comments are closed.