सम्माननीय प्रधानमन्त्रीज्यू,
म कुनै राजनीतिक दलको कार्यकर्ता होइन। म पनि आफ्नो श्रम र पसिनाले परिवार चलाउने एक सामान्य कामदार तथा पर्यटन क्षेत्रमा काम गर्ने नेपाली नागरिक हुँ। त्यसैले यो पत्र कुनै राजनीतिक पूर्वाग्रहबाट होइन, आफ्नो रोजगारी र देशको आर्थिक भविष्यप्रतिको चिन्ताबाट लेख्दैछु।
फेरि पनि भदौ २३ गते फेरि देशव्यापी आन्दोलन हुने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट सूचना फैलिरहेको विषयले मलाई गम्भीर बनाएको छ।
आन्दोलन हुन्छ कि हुँदैन, कसले गर्छ, त्यसको उद्देश्य के हो— तर नकारात्मक प्रचारलाई सामाजिक सञ्जालमा फैलाएर नेपाल अशान्त र असुरक्षित छ भन्ने सन्देश विश्वभर पुग्यो भने त्यसको मूल्य कसले चुकाउने ?
बल्ल बल्ल पर्यटनको सिजन सुरु हुन लागेको समयमा हामीजस्ता पर्यटन क्षेत्रमा काम गर्ने कर्मचारीका लागि यस्ता समाचार सामान्य विषय होइनन्।
एउटा नकारात्मक समाचारले पर्यटकको मनोविज्ञान बदलिन सक्छ, बुकिङ रद्द हुन सक्छ, होटल तथा ट्राभल व्यवसाय प्रभावित हुन सक्छ र अन्ततः हाम्रो रोजगारी र आम्दानीमै प्रत्यक्ष असर पर्न सक्छ।
त्यसको असर केवल एउटा कर्मचारीमा सीमित हुँदैन। होटल, ट्राभल, ट्रेकिङ, एयरलाइन्स, यातायात, रेस्टुरेन्ट, गाइड, पोर्टर व्यवसायदेखि स्थानीय उत्पादन बेच्ने किसानसम्म यसको असर पुग्छ। अन्ततः यसले राष्ट्रिय अर्थतन्त्रलाई नै असर गर्छ।
दुःखको कुरा, हामी नेपालीहरू सकारात्मक समाचारभन्दा नकारात्मक समाचार छिटो फैलाउन प्रतिस्पर्धा गरिरहेका छौँ। देशमा राम्रो भइरहेको कुरा भाइरल हुँदैन, तर आन्दोलन, अराजकता र डर पैदा गर्ने समाचार केही मिनेटमै संसारभर पुग्छ।
यसको आर्थिक मूल्यबारे राज्यले कहिले अनुसन्धान गर्ने ?
कति पर्यटकले नकारात्मक समाचारका कारण आफ्नो यात्रा रद्द गर्न सक्छ र?
कति होटलको बुकिङ घटने छ र?
कति नेपालीको रोजगारीमा असर पर्ने छ र?
देशले कति विदेशी मुद्रा गुमाउने छ ?
यस्ता विषयमा राज्यले तथ्यांकसहित अध्ययन गर्नुपर्ने समय आएको छ।
मिडियालाई समाचार सम्प्रेषण गर्ने अधिकार छ, नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता छ। तर स्वतन्त्रताको अर्थ देशको अर्थतन्त्र र लाखौँ नेपालीको रोजगारीमा पर्ने प्रभावप्रति पूर्ण गैरजिम्मेवार हुनु होइन।
राज्यको पनि उत्तिकै ठूलो दायित्व छ—नकारात्मक सूचना र भ्रम फैलिन नदिने, सत्यतथ्य तत्काल सार्वजनिक गर्ने र नेपालको अन्तर्राष्ट्रिय छवि तथा पर्यटन क्षेत्रको संरक्षण गर्ने।
हामीलाई आन्दोलनको हेडलाइन होइन, पर्यटक आउने हेडलाइन चाहिएको छ।
हामीलाई डर र अराजकताको प्रचार होइन, रोजगारी, विदेशी मुद्रा र आर्थिक समृद्धिको समाचार चाहिएको छ।
एक असल नागरिक हुनु भनेको आफ्नो अधिकार मात्र खोज्नु होइन, आफ्नो एउटा पोस्ट, एउटा समाचार र एउटा अभिव्यक्तिले देशलाई कति असर पार्छ भनेर सोच्नु पनि हो।
त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यू,
पर्यटन क्षेत्र र यसमा निर्भर हजारौँ श्रमिकको रोजगारीलाई ध्यानमा राख्दै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट फैलाइने नकारात्मक र भ्रामक सूचनाप्रति राज्य गम्भीर बनोस् भन्ने मेरो जोडदार माग तथा ध्यानाकर्षण गराउन चाहन्छु।
राजनीति गरौँ, विरोध गरौँ, प्रश्न गरौँ—तर देशको अर्थतन्त्र र नेपालीको रोजगारीलाई दाउमा राखेर होइन। नेपाललाई नकारात्मकताको देश होइन, सम्भावना, पर्यटन र आर्थिक समृद्धिको देश बनाएर विश्वसामु चिनाऔँ।

सुजना सिंखडा



Comments are closed.