व्यापार मेलाको तयारी तिब्र, लोकदोहोरी प्रतियोगिताको प्रायोजक मेरो घर डटकम

आर्थिक आवाज
पोखरा । पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित ‘राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६’को अवसरमा सञ्चालन हुने लोकदोहोरी गीत प्रतियोगिताको प्रायोजन मेरो घर डटकमले गरेको छ । राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता मेलाको आकर्षण बन्ने विश्वास गरिएको संघका महासचिव तथा प्रचारप्रसार संयोजक अर्जुन पोखरेलले बताए ।

यही पुस १८ देखि २८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मेला हुँदैछ । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघ र संघद्वारा आयोजित लोक दोहोरी प्रतियोगितासँग सहकार्य गर्ने उद्देश्यले प्रायोजन गरिएको मेरो घर डट कमका बिजनेस डेभलपमेन्ट एक्जिक्युटिभ बासुदेव भट्टराईले जानकारी दिए ।

घर, होटल, रिसोर्ट तथा व्यावसायिक भवन बनाउन मेरो घर डटकममा विज्ञहरुको राम्रो टोली छ । अर्डर अनुसार घर तथा भवन बनाउने डिजाइन गर्ने काम मेरो घर डटकमबाट हुँदै आइरहेको भट्टराईले जानकारी दिए ।

लोक दोहोरीसँगै मेलामा पञ्चेबजा प्रतियोगितासमेत सञ्चालन हुने सांस्कृतिक उपसमिति संयोजक सोवित पौडेलले जानकारी दिए । खुल्ला नृत्य प्रतियोगिता, लाइभ कन्सर्ट, फेशन सो, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र पुष्प प्रदर्शनी र अटोमेलासमेत मेलाको आकर्षण बन्ने पौडेलले बताए ।

मेलालाई समृद्धि स्टिल्सले मुख्य प्रायोजन गरेको छ । मेलाको तयारी अन्तिम चरणमा पुगेको प्रचारप्रसार संयोजक पोखरेलले जानकारी दिए । मेलामा २ सय ७० वटा स्टल रहनेछन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.