भक्तपुर । सिप्रदी ट्रेडिङ प्रालिले नेपालको निर्माण तथा ढुवानी व्यवसायलाई थप आधुनिक, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ भक्तपुरमा टाटा मोटर्सका बीएस ६ टिपर सार्वजनिक गर्नुका साथै चालक सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। सिप्रदी सहायता संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा २०० भन्दा बढी व्यवसायी, चालक तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर ट्रक व्यवसायी समितिका अध्यक्ष लक्ष्मी गोराको उपस्थितिमा ३, ४ तथा ७ क्युबिक मिटर क्षमताका टाटा बीएस ६ टिपरहरू सार्वजनिक गरिएको थियो। नयाँ बीएस ६ टिपरहरू आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, इन्धन दक्षता तथा निर्माण व्यवसायको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका सेल्स हेड कृष्ण चन्दले बीएस ६ प्रविधि नेपालको व्यावसायिक सवारीसाधन क्षेत्रका लागि महत्वपूर्ण परिवर्तन भएको बताए। उनले भने, “बीएस ६ केवल नयाँ इन्जिन प्रविधि मात्र नभई सुरक्षित, स्वच्छ र आधुनिक यातायात प्रणालीतर्फको यात्रा हो। यस प्रविधिबाट अपेक्षित उत्कृष्ट कार्यसम्पादन र दीर्घकालीन लाभ प्राप्त गर्न चालक, व्यवसायी तथा सेवा प्रदायक सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ। सिप्रदी आफ्ना ग्राहक तथा सम्पूर्ण सरोकारवालासँग सहकार्य गर्दै बीएस ६ प्रविधिको सफल कार्यान्वयनका लागि सधैं प्रतिबद्ध रहनेछ।”
उनले नयाँ बीएस ६ टिपरमा उपलब्ध परिष्कृत सुविधाहरू, इन्धन दक्षता तथा यसको सही सञ्चालन र नियमित मर्मतसम्भारको महत्वबारे पनि जानकारी दिएका थिए।
कार्यक्रममा टाटा मोटर्सका कन्ट्री रिप्रेजेन्टेटिभ अञ्चित अग्रवाल, सिप्रदीका चिफ म्यानेजर आदित्य जंग हिमालीलगायत भक्तपुर ट्रक व्यवसायी समिति, इँटा व्यवसायी संघ तथा ठेकेदार संघका प्रतिनिधिको उपस्थिति थियो।

कार्यक्रमअन्तर्गत सहभागी चालकलाई बीएस ६ सवारीसाधनको सही सञ्चालन, नयाँ प्रविधिको प्रभावकारी प्रयोग, आवश्यक सावधानी तथा नियमित मर्मतसम्भारसम्बन्धी सचेतना तथा प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षणपश्चात् प्रमुख अतिथि लक्ष्मी गोराले सहभागी चालक तथा प्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेका थिए ।
सिप्रदी सहायता संस्थाको सहकार्यमा आयोजित यस कार्यक्रमले व्यवसायी तथा चालकलाई बीएस ६ प्रविधिबारे थप जानकारी प्रदान गर्नुका साथै नयाँ प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगमा सहयोग पुग्ने विश्वास लिइएको छ। सिप्रदीले आगामी दिनमा पनि ग्राहक तथा सरोकारवालासँग सहकार्य गर्दै आधुनिक तथा प्रविधिमैत्री व्यावसायिक सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने जनाएको छ।



Comments are closed.