काठमाडौं । नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको उद्धार र राहतका लागि अस्ट्रेलियास्थित उच्च शिक्षा संस्था ‘नेसनल एकेडेमी अफ प्रोफेसनल स्टडिज’ (NAPS) ले रु. १० लाख तत्काल सहयोग गर्ने घोषणा गरेको छ ।
NAPS अस्ट्रेलियाले बाढी तथा पहिरोपीडित परिवारहरूको सहयोगका लागि उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मार्फत उपलब्ध गराउने निर्णय गरेको हो । आपत्कालीन राहत, उद्धार तथा प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सहयोग घोषणा गरिएको जनाइएको छ ।
नेपाल र नेपाली समुदायसँग दीर्घकालीन एवं प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै NAPS ले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, दुःखको यस कठिन समयमा प्रभावित सबै परिवारहरूसँग पूर्ण ऐक्यबद्धता जनाएको छ ।
‘नेपालसँगको हाम्रो सम्बन्ध शिक्षाभन्दा परको हो । आवश्यक परेको बेला समुदायलाई सहयोग गर्नु NAPS को निरन्तर सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा हो । यस कठिन समयमा हामी नेपाल र यसका जनतासँग सँगै छौँ,’ सहयोग घोषणा गर्दै NAPS अस्ट्रेलियाले भनेको छ ।

सिड्नी र मेलबर्नमा सञ्चालित अस्ट्रेलियाली शैक्षिक संस्था NAPS ले आपत्कालीन राहत तथा पुनर्निर्माण कार्यमा आफ्नो योगदान जारी रहने प्रतिबद्धता व्यक्त गरेको छ ।




Comments are closed.