उद्धारमा यन्त्र उपकरणसहित खटिन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बतबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा र चितवन लगायतका जिल्लाहरूमा भएको अकल्पनीय मानवीय एवं भौतिक क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।

महासंघका अध्यक्ष निकोलस पाण्डेले बिहीबार एक विशेष अपील जारी गर्दै त्रासदीपूर्ण घटनामा परी ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार तथा स्वास्थ्य उपचारका लागि सरकारी निकायहरूले गरिरहेको प्रयासमा जुनसुकै सहयोग गर्न महासंघ तयार रहेको बताएका छन् ।

महासंघका अनुसार बाढी पीडितहरूको सहयोगार्थ ‘निर्माण व्यवसायी कोष’ मार्फत छिट्टै राहतको घोषणा गरिनेछ । विषम परिस्थितिमा शोकलाई शक्तिमा बदल्दै आपसी सहयोगमा जुट्न महासंघले आग्रह गरेको छ ।

महासंघ अध्यक्ष पाण्डेले निर्माण क्षेत्रमा क्रियाशील तमाम व्यवसायीहरूलाई आ-आफ्ना यन्त्र उपकरण (हेभी इक्विपमेन्ट) सहित बाढी प्रभावित क्षेत्रमा खटिएर निर्माण श्रमिक, मजदुर तथा अन्य नागरिकको खोज र उद्धारमा सक्रिय हुन विशेष अपील गर्नुभएको छ। साथै महाविपत्तिमा परेका नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिन राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ–संस्था र आम नागरिकलाई समेत महासंघले हार्दिक अनुरोध गरेको छ ।

You might also like

Comments are closed.