भरतपुर । यही भदौ १० गते आएको बाढी पीडितहरूको सहयोगार्थ ब्रान्डेड अटोमोबाइल्स प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेको छ । भरतपुर महानगरपालिका–९ मा सञ्चालित यो कम्पनी चितवन र नवलपुर जिल्लाका लागि SML Isuzu, Dongfeng, Kama, Forthing Friday ब्रान्डका सवारी साधनको आधिकारिक डिलर हो । कम्पनीले विपद्को कठिन समयमा प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेको हो ।
बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र नवलपुर लगायतका जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ । प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सहयोग रकम प्रदान गरिएको कम्पनीका अध्यक्ष इन्द्र प्रसाद रेग्मीले बताए ।
‘व्यापार-व्यवसाय सञ्चालनसँगै देशमा आइपर्ने विपद् र संकटको समयमा नागरिकको सारथी बन्नु हाम्रो दायित्व हो,’ अध्यक्ष रेग्मीले भने, ‘बाढी र पहिरोले देशका धेरै जिल्लामा नागरिकहरू विस्थापित हुनुभएको छ । पीडित परिवारको उद्धार, राहत र पुनस्र्थापनाका लागि सबै क्षेत्रबाट सहकार्यको आवश्यकता छ । हाम्रो यो सानो सहयोगले राहत कार्यमा केही हदसम्म सहयोग पुग्ने विश्वास लिएका छौँ ।’




Comments are closed.