पोखरा। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पोखराका विभिन्न संघ-संस्था तथा प्रतिष्ठानले कुल ४१ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग रकम प्रदान गरेका छन्। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भोटेकोशी विपद् व्यवस्थापन र बाढीपिडितको सहयोगार्थ उक्त सहयोग गरिएको हो ।
यस अन्तर्गत अटोवेज प्रालि (पोखरा) तथा BULL Machines Pvt. Ltd. India: बाट २५ लाख रुपैया, प्रतिभा माध्यमिक विद्यालय, पोखरा-३, नदिपुरबाट विद्यालयको संस्थागत दायित्व तथा शिक्षक-कर्मचारीबाट ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र गोविन्द-कलावती फाउण्डेसन (पोखरा-९, नयाँबजार)बाट ५ लाख रुपैयाँ रहेको छ । उक्त संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
सहयोगी संस्थाका तर्फबाट प्रतिभा माध्यमिक विद्यालयका अध्यक्ष नारायण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बाढीका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभ र विस्थापितहरूको सुरक्षित पुनर्स्थापनाको कामना गरिएको छ।
विपद्को यस कठिन समयमा केवल राहत वितरणमा मात्र सीमित नरही आगामी दिनमा बाढीबाट क्षति पुगेका विद्यालयको पुनस्निर्माण तथा बालबालिकाको शैक्षिक वातावरण सहज बनाउन सम्बन्धित निकायसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि संस्थाले जनाएका छन्।




Comments are closed.