शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपद्वारा १ करोड ५१ लाख सहयोग

काठमाडौं । बाढी तथा पहिरो प्रभावित नागरिकहरूको उद्धार, राहत र दिगो पुनःस्थापनाका लागि मुलुकका प्रतिष्ठित निर्माण कम्पनी शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपले रु. १ करोड ५१ लाख आर्थिक सहयोग उपलब्ध गराएका छन् । मंगलवार अर्थ मन्त्रालयमा शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा, सञ्चालक सौरभ शर्मा र संजीवनी ग्रुपका सञ्चालक राजु बस्नेत क्षेत्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।

बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । पीडित सर्वसाधारणको तत्काल उद्धार, राहत सामग्री वितरण र पुनःस्थापनालाई तीव्रता दिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम प्रदान गरिएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष रमेश शर्माले भने, ‘संकटको यो कठिन घडीमा बाढी प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको घाउमा मलम लगाउनु र राज्यलाई सघाउनु निजी क्षेत्रको दायित्व हो ।’

कठिन परिस्थितिमा प्राप्त सहयोग अनुकरणीय रहेको बताउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रकम पूर्ण पारदर्शी रूपमा प्रभावित क्षेत्रका नागरिकको उद्धार र पुनःस्थापनामा उपयोग गरिने बताए ।

संजीवनी ग्रुपका सञ्चालक राजु बस्नेत क्षेत्रीले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावितहरूको उद्धार तथा सुरक्षित बसोबासलाई उच्च प्राथमिकतामा राख्न सरकारसमक्ष आग्रह गरे ।

You might also like

Comments are closed.