पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा पहिलोपटक महिला नेतृत्व

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनबाट महिला उद्यमी शोभा गौतम अध्यक्ष पदमा निर्वाचित भएकी छन् । वि.सं. २०११ मा स्थापना भएको संघको ७२ वर्षे लामो इतिहासमा महिलाले नेतृत्वको जिम्मेवारी सम्हालेको यो पहिलोपटक हो । कडा चुनावी प्रतिस्पर्धामा चार जना प्रतिस्पर्धीलाई पछाडि पार्दै गौतमले यो ऐतिहासिक जित हासिल गरेकी हुन् ।

यसअघि संघको कार्यसमिति सदस्य, उप–महासचिव र महासचिवको जिम्मेवारी सम्हालिसकेकी गौतमले निजी क्षेत्रको समावेशी नेतृत्व, व्यावसायिक सुरक्षा र संस्थागत सुदृढीकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएकी थिइन् । उनको यो जितलाई पोखरा र समग्र गण्डकी प्रदेशको निजी क्षेत्रमा महिला सशक्तीकरणको नयाँ युगको सुरुवातको रूपमा हेरिएको छ ।

 

नेपालकै जेठोमध्येको एक प्रतिष्ठित व्यावसायिक संस्था पोखरा उद्योग वाणिज्य संघमा हाल २ हजार ७ सयभन्दा बढी उद्योगी–व्यवसायीहरू आबद्ध छन् । पर्यटन तथा व्यापारिक केन्द्रका रूपमा रहेको पोखराको शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाउने, व्यवसायमैत्री वातावरण सिर्जना गर्ने र साना तथा मझौला उद्यमीको हित संरक्षण गर्ने चुनौती नयाँ नेतृत्वसामु छ ।

You might also like

Comments are closed.