महिला उद्यमीको कमाण्डमा चार वटा उद्योग वाणिज्य संघ

काठमाडौं । नेपाली निजी क्षेत्र तथा व्यावसायिक संघ-संस्थाहरूमा महिलाहरूको उपस्थिति केवल सहभागिता र प्रतिनिधित्वमा मात्र सीमित नरही अब निर्णायक नेतृत्वमै स्थापित हुन थालेको छ । देशका प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्रहरूमा हालै सम्पन्न निर्वाचन परिणामहरूले नेपाली निजी क्षेत्रको ६ दशकभन्दा लामो इतिहासमा महिला उद्यमीहरुको सहभागिता र आकर्षण बढिरहेको पुष्टि गर्छ । महासंघ अन्तर्गत देशभर रहेका १३० संघहरु मध्ये इतिहासमै पहिलोपटक एकै अवधिमा चारवटा उद्योग वाणिज्य संघहरूको कमान्ड महिला उद्यमीहरूले सम्हाल्न सफल भएका छन् ।

शोभा गौतम, पोखरा उद्योग वाणिज्य संघ :

पोखराको ७० वर्ष लामो व्यावसायिक इतिहासमा पहिलोपटक महिला अध्यक्ष चुनिएर शोभा गौतमले नयाँ अध्याय सुरु गरेकी छन् । यही भदौ २० र २१ गते भएको संघको ३६औं महाधिवेशनमा भएका तीन जना प्रबल प्रतिस्पर्धीहरू अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएकी हुन् ।

जानुका पराजुली, लेखनाथ उद्योग वाणिज्य संघ :

संघको १५औं अधिवेशनबाट सशक्त प्रतिस्पर्धा गर्दै पराजुली लेखनाथ उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्ष निर्वाचित भएकी हुन् । २०८२ भदौमा भएको निर्वाचनबाट उनी अध्यक्षमा निर्वाचित भएकी हुन् । उनको कार्यकाल एक वर्ष बाँकी छ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि गत वैशाखमा भएको निर्वाचनमा जिल्ला नगरतर्फबाट मतदान गर्ने एक मात्रै महिला अध्यक्ष उनी थिइन् । ‘महासंघको निर्वाचनमा मतदान गर्दा म आफूमात्रै अध्यक्ष भएर मतदान गर्दा केही दुःख पनि लागेको थियो,’ उनी भन्छिन्, ‘तर अहिले यसरी एकैपटक धेरै संघहरूमा महिला नेतृत्व थपिनु अत्यन्तै सकारात्मक र उत्साहजनक छ ।’ आगामी दिनमा उद्यमशीलता र व्यावसायिक संघसंस्थाहरूमा महिलाको नेतृत्वदायी भूमिका अझ बढाउँदै लैजानुपर्ने उनको भनाइ छ ।

गायत्री कटुवाल भण्डारी, उद्योग वाणिज्य संघ इटहरी :

गत असारमा भएको निर्वाचनबाट उनी उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा विजयी भएकी हुन् । राजनीतिक दलहरुको समर्थनमा चुनावी प्रतिस्पर्धामा रहेका प्रतिस्पर्धीलाई उनले स्वतन्त्र उम्मेदवारी दिएर पराजित गर्न सफल भइन् । विगतको तुलनामा अहिले व्यावसायिक नेतृत्व लिन र नीतिगत तहमा पुग्न महिलाहरूको आकर्षण र उत्सुकता निकै बढेको उनको भनाइ छ । ‘महिलाहरू अब हरेक चुनौती सामना गर्दै नेतृत्वका लागि पूर्ण रूपमा तयार भइसकेका छन् भने तमाम साधारण व्यवसायीहरूमा पनि महिला नेतृत्वप्रतिको विश्वास र भरोसा बढेको छ,’ कटुवाल भन्छिन् ।

अनुपमा ढुङ्गाना, वालिङ उद्योग वाणिज्य संघ :

व्यावसायिक एकता र सर्वसम्मतिको सन्देश दिँदै अनुपमा ढुङ्गाना वालिङ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।

नेतृत्वका लागि महिला उद्यमी सक्षम छन् र सर्वसम्मत अध्यक्षमा निर्वाचित हुन सम्भव छ भन्ने सन्देश दिन उनी सफल उदाहरण बनेकी छन् ।

विगतमा महिलाहरूलाई व्यापार–व्यवसायमा सीमित साझेदारका रूपमा मात्र हेरिने गरिए पनि पछिल्लो समय उनीहरूको कार्यसम्पादन, दूरदर्शिता र व्यावसायिक दक्षताले यो सोचमा व्यापक बदलाव ल्याएको छ । नीति निर्माण, संस्थागत सुशासन र आर्थिक एजेन्डामा महिला उद्यमीहरूको अग्रसरताले समग्र निजी क्षेत्रलाई अझ पारदर्शी र समावेशी बनाउने अपेक्षा गरिएको छ ।

एउटै लहरमा चारवटा प्रमुख संघहरूको नेतृत्वमा महिलाहरू पुग्नुले आगामी दिनमा हजारौँ उदीयमान महिला उद्यमीहरूलाई संस्थागत नेतृत्वमा आउन प्रेरित गर्नेछ ।

नेपाल उद्योग वाणिज्य महासंघको सर्वोच्च पदमा भवानी राणा १८औँ अध्यक्ष बनेर इतिहास रचेकी थिइन् । विगतमा एकाध जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूमा फाट्टफुट्ट रूपमा महिला अध्यक्ष बने पनि ती नेतृत्वहरू अहिले निवर्तमान र पूर्व भइसकेका छन् । विगतमा निकै न्यून संख्यामा सीमित महिला नेतृत्वको इतिहासलाई चिर्दै यसपटकको निर्वाचन परिणामले व्यावसायिक जगत्मा नयाँ उत्साह र ऊर्जा थपेको छ ।

स्थानीय स्तरमा संस्थागत नेतृत्व सम्हाल्न पुगेका अध्यक्षहरूले यस परिवर्तनलाई निजी क्षेत्रको परिपक्वताका रूपमा लिएका छन् ।

You might also like

Comments are closed.