काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले अर्थमन्त्रीद्वारा सार्वजनिक गरिएको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन् । उनले कार्ययोजनालाई नेपालको पूँजी बजारको संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण तथा दीर्घकालीन विकासका लागि महत्वपूर्ण नीतिगत पहल भएको बताएका छन् ।
ढकालले कार्ययोजनामा आईपीयोमा ‘प्राइस डिस्कभरी’ प्रणाली लागू गर्ने, ‘मार्जिन लेन्डिङ’ तथा ‘सर्ट सेलिङ’ कार्यान्वयन गर्ने, ‘कर्पोरेट बोन्ड मार्केट’को विकास गर्ने, गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा लगानीको अवसर प्रदान गर्ने, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने तथा नेप्से, सीडीएससी र धितोपत्र दलाल व्यवसायको आधुनिकीकरण गर्ने व्यवस्था समेटिएको उल्लेख गर्दै यसले नेपालको पूँजी बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
उनले दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले ३६५ दिनभन्दा बढी अवधिसम्म धारण गरिएको धितोपत्रबाट प्राप्त पुँजीगत लाभमा ३.७५ प्रतिशत तथा ३६५ दिन वा सोभन्दा कम अवधिको लगानीमा ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने व्यवस्था सकारात्मक भएको बताए । उनका अनुसार यसले दीर्घकालीन लगानी संस्कृतिलाई प्रवद्र्धन गर्नुका साथै बजारमा स्थायित्व, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा पूँजी बजारको दिगो विकासमा टेवा पु¥याउनेछ ।

ढकालले सरकारले घोषणा गरेका सुधारहरू समयबद्ध र प्रभावकारी रूपमा कार्यान्वयन भएमा पूँजी बजारप्रति लगानीकर्ताको विश्वास थप मजबुत हुने, बजारमा तरलता वृद्धि हुने तथा आर्थिक विकासमा पूँजी बजारको भूमिका अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् ।
साथै उनले पूँजी बजार सुधारप्रति देखाएको प्रतिबद्धताका लागि माननीय अर्थमन्त्री, अर्थ मन्त्रालय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दै कार्ययोजनाको सफल कार्यान्वयनका लागि स्टक ब्रोकर एशोसिएसन अफ नेपाल सरकार तथा नियामक निकायसँग आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् ।



Comments are closed.