‘टेक्सस ह्याकाथन भोलुम २.०’ सुरु, १२० विद्यार्थी ४८ घण्टे प्रविधि यात्रामा

काठमाडौं। सूचना प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूको सीप, सिर्जनशीलता र नवप्रवर्तनलाई व्यावहारिक रूपमा प्रस्तुत गर्ने उद्देश्यले टेक्सस कलेजले ‘टेक्सस ह्याकाथन भोलुम २.०’ आयोजना गरेको छ।

व्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको यो ४८ घण्टे प्रतिस्पर्धा शुक्रबार सुरु भएको हो। प्रतियोगितामा करिब १२० जना विद्यार्थीलाई २५ वटा समूहमा विभाजन गरी सहभागी गराइएको छ। शुक्रबार सुरु भएको यो कार्यक्रम आइतबार साँझ ६ बजेसम्म सञ्चालन हुने कलेजले जनाएको छ।

प्रतियोगितामा सहभागी टोलीले निश्चित ४८ घण्टाभित्र वास्तविक वा सम्भावित समस्याको पहिचान गरी प्रविधिमा आधारित समाधान तयार गर्नुपर्नेछ। सहभागीका लागि ‘साइबर सेक्युरिटी’ ‘हेल्थ टेक’, ‘फ्युचर अफ एजुकेसन’, ‘क्लाइमेट एन्ड स्मार्ट सिटी’ ‘लाइभ्लिहुड एन्ड लोकल कर्मस’ र ‘स्मार्ट कम्युनिटीज’ गरी ६ वटा विषय (थिम) निर्धारण गरिएको छ।

प्रतियोगितामा ‘ओरिजिनल वर्क’ हुनुपर्ने, ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को अर्थपूर्ण प्रयोग हुनुपर्ने, र निर्धारित समयभित्र ‘गिटहब’ मा कोड बुझाउनुपर्ने जस्ता कडा नियमहरू तय गरिएका छन्। ४८ घण्टाको अवधि समाप्त भएपछि निर्णायक मण्डलले ‘इनोभेसन’, ‘सिस्टम फङ्सनालिटी’ ‘युआईरयुएक्स’ र ‘फाइनल प्रिजेन्टेसन’ का आधारमा मूल्याङ्कन गर्नेछन्।

प्रतियोगितामा प्रथम हुने टोलीले रु. ३० हजार, द्वितीयले रु. २० हजार र तृतीय हुनेले रु. १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट प्रयास गर्नेलाई सान्त्वना पुरस्कारको पनि व्यवस्था गरिएको छ।

यस्ता कार्यक्रमले ‘एकेडेमिक्स’ र ‘इन्डस्ट्री’ बीचको दूरी कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कलेजको विश्वास छ। सीमित समयभित्र ‘आइडिया’ छनोटदेखि ‘कोडिङ’, ‘टेस्टिङ’ र ‘डेमोन्स्ट्रेसन’ सम्म पुग्दा विद्यार्थीहरूमा व्यावसायिक सीपको विकास भई उनीहरूलाई ‘जब सिकरु मात्र नभई ‘इनोभेटर’ र ‘डेभलपर’ बन्न मद्दत पुग्नेछ।

You might also like

Comments are closed.