काठमाडौं । रोटरी क्लब अफ ताइचुङ नर्थवेस्ट, ताइवानको सहयोग तथा रोटरी क्लब अफ कपनको समन्वयमा सामुदायिक स्वास्थ्य सेवा परिषद्, डल्लु आवास, स्वयम्भू, काठमाडौंलाई विभिन्न आधुनिक मेडिकल उपकरण तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गभर्नर विष्णु बहादुर कार्कीले सामुदायिक स्वास्थ्य सेवा परिषद्का अध्यक्ष प्रा. केशर बहादुर मानन्धरलाई उक्त मेडिकल सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि कार्कीले मेडिकल सामग्री हस्तान्तरण गर्दै यस्ता सहयोगले स्वास्थ्य संस्थाको सेवा क्षमता अभिवृद्धि गर्नुका साथै सर्वसाधारणलाई गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने बताए। उनले स्वास्थ्य, शिक्षा तथा मानवीय सेवाका क्षेत्रमा रोटरीले गर्दै आएको अन्तर्राष्ट्रिय सहकार्यको निरन्तरताका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक स्वास्थ्य सेवा परिषद्का मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. बुलन्द थापाले प्राप्त आधुनिक मेडिकल उपकरणले अस्पतालमा उपचाररत बिरामीको उपचारलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन पहल तथा समन्वय गर्ने रोटरी क्लब अफ कपन, रोटरी क्लब अफ ताइचुङ नर्थवेस्ट ताइवान तथा रोटरी इन्टरनेसनलप्रति आभार व्यक्त गरे।
यसैबीच रोटरी क्लब अफ कपनका निवर्तमान अध्यक्ष प्रल्हाद दाहालले आफ्नो स्वागत मन्तव्यका क्रममा यो परियोजना रोटरी क्लब अफ कपनको पहिलो ग्रान्ड प्रोजेक्ट भएको जानकारी गराए । उनका अनुसार उक्त परियोजनाको सम्झौता तथा आवश्यक प्रक्रिया उनि क्लबको अध्यक्ष रहेको कार्यकालमै सम्पन्न भएको थियो भने मेडिकल सामग्री हस्तान्तरण गर्ने कार्यक्रम भने वर्तमान अध्यक्ष मञ्जु श्रेष्ठको कार्यकालमा सम्पन्न भएको हो। निवर्तमान अध्यक्ष दाहालले ताइवानस्थित रोटरी क्लब अफ ताइचुङ नर्थवेस्टको सहयोगमा प्राप्त मेडिकल सामग्री नेपालमा स्वास्थ्य सेवाको क्षेत्रमा भएको अन्तर्राष्ट्रिय रोटरी सहकार्यको महत्वपूर्ण उदाहरण भएको बताए। उनले परियोजनालाई सम्झौतादेखि हस्तान्तरणसम्म पुर्याउन सहयोग गर्ने रोटरी इन्टरनेसनल, रोटरी क्लब अफ ताइचुङ नर्थवेस्ट ताइवान, सामुदायिक स्वास्थ्य सेवा परिषद् तथा रोटरी क्लब अफ कपनका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूप्रति आभार व्यक्त गरे।
त्यसैगरी रोटरी क्लब अफ कपनका पूर्व अध्यक्ष तथा कार्यक्रमका विशेष वक्ता डा. राजु लामा कुन्दनले ताइवानबाट प्राप्त सहयोग मेडिकल उपकरण हस्तान्तरणमा मात्र सीमित नरही नेपाल र ताइवानबीचको मानवीय तथा सामाजिक सहकार्यलाई थप बलियो बनाउने महत्वपूर्ण माध्यम भएको बताए। उनले सामुदायिक स्वास्थ्य सेवा परिषद् र रोटरी क्लब अफ कपनबीचको सहकार्यले स्थानीय समुदायको स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पार्दै आएको उल्लेख गरे।
सामुदायिक स्वास्थ्य सेवा परिषद्का निवर्तमान अध्यक्ष हरि गोपाल श्रेष्ठले परिषद्को स्वास्थ्य सेवा विस्तार तथा संस्थागत विकासमा सहयोगी संस्था र दातृ निकायको योगदान महत्वपूर्ण रहेको बताए । उनले परिषद्लाई विगतदेखि सहयोग गर्दै आएका विभिन्न व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सामुदायिक सेवाका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

रोटरी क्लब अफ कपनका अध्यक्ष मञ्जु श्रेष्ठले रोटरीको मूल भावना नै सेवा र सहकार्य भएको बताउँदै स्वास्थ्य, शिक्षा तथा मानवीय सेवाका क्षेत्रमा क्लबले आगामी दिनमा पनि विभिन्न सामाजिक संस्थासँग सहकार्यलाई निरन्तरता दिने बताइन्। उनले सामुदायिक स्वास्थ्य सेवा परिषद्लाई प्राप्त मेडिकल सामग्रीको उचित सदुपयोगमार्फत धेरैभन्दा धेरै बिरामी लाभान्वित हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा सामुदायिक स्वास्थ्य सेवा परिषद्का व्यवस्थापन उपसमिति संयोजक प्रकाश कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै मेडिकल सामग्री उपलब्ध गराउने रोटरी क्लब अफ ताइचुङ नर्थवेस्ट ताइवान, रोटरी इन्टरनेसनल, रोटरी क्लब अफ कपन तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति कृतज्ञता व्यक्त गरे । उनले प्राप्त सामग्रीको उचित व्यवस्थापन तथा प्रभावकारी प्रयोगमार्फत समुदायका बिरामीलाई अधिकतम लाभ प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ कपनका इलेक्ट प्रेसिडेन्ट तथा सामुदायिक स्वास्थ्य सेवा परिषद्का महासचिव दीपक चन्द्र गौतमले गरेका थिए । उनले अन्तर्राष्ट्रिय रोटरी सहकार्यबाट प्राप्त मेडिकल सामग्रीले परिषद्को स्वास्थ्य सेवा थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा रोटरी क्लब अफ कपनका चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठ, पास्ट प्रेसिडेन्ट शिवहरी खनाल, डा तेज बहादुर रोक्का एवं पदाधिकारी तथा सदस्यहरू, सामुदायिक स्वास्थ्य सेवा परिषद्का पदाधिकारी, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
ताइवान स्थित रोटरी क्लब अफ ताइचुङ नर्थवेस्टको सहयोग, रोटरी इन्टरनेसनलको सहकार्य तथा रोटरी क्लब अफ कपनको समन्वयमा प्राप्त यी मेडिकल उपकरणले सामुदायिक स्वास्थ्य सेवा परिषद्को सेवा क्षमता विस्तार, उपचारको गुणस्तर अभिवृद्धि तथा स्थानीय समुदायका बिरामीलाई थप प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
यस परियोजनाले एक कार्यकालमा सुरु भएको पहल अर्को कार्यकालमा सफलतापूर्वक सम्पन्न गर्दै रोटरीको निरन्तरता, सहकार्य र संस्थागत भावनालाई समेत प्रतिबिम्बित गरेको छ।




Comments are closed.