पोखरा । पोखरा ८ न्यूरोडमा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लि. र पोखरा–११, रानीपौवामा अवस्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर बीच बित्तीय संस्थाका कर्मचारी तथा सेवाग्राही सदस्यहरुलाई सहज, गुणस्तरीय तथा सहुलियतपूर्ण स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य उपचार सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार मेडिप्लस हस्पिटलले एनएमबि लघुवित्तका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोष अन्र्तगतको सेवा लिँदा सामाजिक सुरक्षा कोष (SSF) ले प्रदान गरेको छुटमा हस्पिटलको तर्फबाट थप १० प्रतिशत छुट उपलब्ध गराउने छ । सामाजिक सुरक्षा कोषमा आवद्ध संस्थाका कर्मचारीहरुले हाल ८० प्रतिशत छुट प्राप्त गर्दछन् भने २० प्रतिशत कर्मचारी स्वयमले ब्यहोर्नुपर्ने हुन्छ । यसरी कर्मचारीले ब्यहोनुपर्ने २० प्रतिशत रकममा १० प्रतिशत रकम हस्पिटलले छुट दिने भएको हो ।
हस्पिटलले सेवाग्राही सदस्यलाई सामान्य ओपिडी परामर्श, २४ घण्टा आकस्मिक उपचार सेवा, विशेषज्ञ चिकित्सकीय परामर्श, इन–प्यासेन्ट तथा आउट–प्यासेन्ट सेवा, शल्यक्रिया, प्रयोगशाला तथा डायग्नोस्टिक सेवा, औषधि तथा फार्मेसी सेवा लगायतका स्वास्थ्य सेवाहरूमा समेत छुट उपलब्ध गराउनेछ ।
सम्झौताको महत्वपूर्ण पक्षका रूपमा आकस्मिक अवस्थाका बित्तीय संस्थाका कर्मचारी तथा सेवाग्राहीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । साथै, कर्मचारी तथा सेवाग्राही सदस्यहरूका लागि अस्पतालले विभिन्न स्वास्थ्य सेवामा विशेष छुटसमेत प्रदान गर्नेछ ।
सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूलाई अस्पतालको बेड चार्ज र प्रयोगशाला परीक्षणमा २५ प्रतिशत, शल्यक्रिया तथा अपरेशनमा १० प्रतिशत र फार्मेसी बिलमा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।
त्यसैगरी, एनएमबि लघुवित्तका सेवाग्राही सदस्य तथा सदस्यका परिवारका सदस्यहरूलाई बेड चार्ज तथा प्रयोगशाला परीक्षणमा ३० प्रतिशत, शल्यक्रिया तथा अपरेशनमा १५ प्रतिशत र फार्मेसी बिलमा १० प्रतिशत छुट प्रदान गरिनेछ । उक्त सुविधा लिन ग्राहक वा परिवारका सदस्यले सम्बन्ध कागजात वा एनएमबि लघुवित्तको सिफारिस पेश गर्नुपर्नेछ ।
सम्झौता अन्तर्गत एनएमबि लघुवित्तका नयाँ कर्मचारीहरूको नियुक्तिपूर्व स्वास्थ्य परीक्षणसमेत सहुलियतपूर्ण दरमा गरिनेछ । स्वास्थ्य परीक्षणमा CBC, Urine RE, Stool RE, HIV, Chest X–ray, Typhoid, Random Blood Sugar, Blood Grouping and RH Type, स्वास्थ्य प्रमाणपत्र तथा चिकित्सकीय परामर्शलगायतका परीक्षणहरू समावेश छन् ।
यसका साथै, मेडिप्लस हस्पिटलले एनएमबि लघुवित्तसँगको सहकार्यमा वार्षिक तथा आवधिक स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना कार्यक्रम, मधुमेह तथा उच्च रक्तचाप परीक्षण, महिला स्वास्थ्य कार्यक्रम, पोषण तथा जीवनशैली परामर्श, प्राथमिक उपचार तालिम, व्यावसायिक स्वास्थ्यसम्बन्धी सचेतना तथा आकस्मिक स्वास्थ्य सहायता लगायतका कार्यक्रम सञ्चालनमा सहयोग गर्नेछ ।
सम्झौतामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका तर्फबाट प्रमुख सञ्चालन अधिकृत प्रकाश बि.क. तथा एनएमबि लघुवित्त वित्तीय संस्था लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सजल खड्काले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा हस्पिटलको तर्फबाट प्रवन्धक सुरेश राज सुवेदी तथा बित्तीय संस्थाको तर्फबाट प्रमुख जोखिम अधिकृत राम प्रसाद भण्डारी र जनशक्ति ब्यवस्थापन विभाग प्रमुख सूर्य बहादुर थापाको उपस्थिति रहेको थियो ।
सम्झौता एक वर्षका लागि लागू हुनेछ र दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । यस सहकार्यले एनएमबि लघुवित्तका कर्मचारी, ग्राहक तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा थप सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ ।




Comments are closed.