काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले भोटेकोशी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।
महासंघले कोषमा ४० लाख ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो । महासंघको एक टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्मा, सचिव केशर बहादुर विश्वकर्मा, कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा, कार्यसमिति सदस्य त्रिलोचन विश्वकर्मा तथा कार्यालय प्रमुख राम महर्जनका साथै महासंघमा आबद्ध सदस्य संस्था रत्न व्यवसायी संघ नेपालका अध्यक्ष कृष्ण हमाल र नेपाल सुनचाँदी राष्ट्रिय व्यवसायी मञ्चका अध्यक्ष खेम तिरुवाको समेत उपस्थिति रहेको थियो ।
बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग गर्नु मानवीय तथा सामाजिक दायित्व भएको महासंघले बताएको छ ।
महासंघका सम्पूर्ण केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्य, सातै प्रदेश महासंघका अध्यक्ष तथा महासंघमा आबद्ध सदस्य संघका अध्यक्षको सक्रिय सहभागितामा गत भदौ १५ गते बसेको आकस्मिक अनलाइन बैठकले विपद् प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार महासंघको आह्वानमा सुनचाँदी, रत्न तथा आभूषण व्यवसायमा आबद्ध व्यवसायीबाट स्वेच्छिक रूपमा आर्थिक सहयोग संकलन गरी एकद्वार प्रणालीमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था गरेको महसचिवतथा संघ प्रदेश समन्वय तथा राहत संकलन समितिका संयोजक निर बहादुर विश्वकर्माले जनाकारी दिए ।
महासंघले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकहरूको सहयोग, राहत तथा पुनःस्थापनाका कार्यमा आफ्नो सामाजिक उत्तरदायित्वअनुसार आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
संकलित बाँकी रकममा महासंघको कोषबाट समेत थप गरी मुख्य रूपमा यस क्षेत्रसँग सम्बन्धित विपद् प्रभावित व्यवसायी, कालिगढ तथा पीडित परिवारजनलाई उनीहरूको अवस्था तथा आवश्यकताका आधारमा प्रत्यक्ष रूपमा राहत रकम हस्तान्तरण गर्ने कार्ययोजना रहेको छ । महासंघले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकहरूको सहयोग, राहत तथा पुनःस्थापनाका कार्यमा आफ्नो सामाजिक उत्तरदायित्वअनुसार आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।




Comments are closed.