काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा “विद्यमान आपूर्ति प्रणालीका समस्या तथा समाधान” विषयक अन्तरक्रिया कार्यक्रम २०८३ असोज ५ गते येलो प्यागोडा होटल, कान्तिपथमा सम्पन्न भएको छ।
संघका अध्यक्ष रमानाथ श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हालैको बाढी तथा पहिरोपछि आपूर्ति प्रणालीमा देखिएका समस्या तथा आगामी दसैं, तिहारलगायतका चाडपर्वमा वस्तुको सहज आपूर्ति सुनिश्चित गर्ने विषयमा सम्बन्धित सरकारी निकाय, उद्योगी–व्यवसायी, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो। कार्यक्रमबाट प्राप्त निष्कर्ष तथा सुझावलाई सम्बन्धित निकायसमक्ष पुर्याई आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष दिनेश श्रेष्ठले विद्यमान आपूर्ति प्रणालीका समस्याबारे प्रस्तुतीकरण गर्दै उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्थामा सुधार, भन्सार बिन्दुमै वस्तुको गुणस्तर परीक्षण तथा दैनिक उपभोग्य वस्तुको माग, आपूर्ति र मौज्दातको नियमित तथ्यांक व्यवस्थापन आवश्यक रहेको बताए। अनुगमन मात्र नभई कुनै वस्तुको आपूर्ति कम हुनुअघि नै पहिचान गरी समयमै समाधान गर्नुपर्ने तथा विषम परिस्थितिमा समेत जनतामा आपूर्ति व्यवस्थाप्रति विश्वास कायम गर्नुपर्नेमा उनले जोड दिए।
संघका वरिष्ठ उपाध्यक्ष दुर्गाराज श्रेष्ठले काठमाडौं उपत्यकामा गरिएको बजार अध्ययन प्रस्तुत गर्दै २०८२ असोज १ गते र २०८३ असोज १ गतेको तुलनात्मक अध्ययनमा ४९ वस्तुमध्ये २४ वस्तुको मूल्य वृद्धि, १४ वस्तुको मूल्य स्थिर र ११ वस्तुको मूल्य घटेको जानकारी गराए।
कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं महानगरपालिका, साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लगायतका सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
त्यसैगरी नेपाल खाद्य किराना व्यवसायी संघ, राष्ट्रिय उपभोक्ता मञ्च नेपाल, उपभोक्ता अधिकार अनुसन्धान मञ्च, नेपाल चिनी उद्योग संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, नेपाल एलपी ग्यास उद्योग संघ, ग्यास विक्रेता महासंघ, नेपाल खुद्रा व्यापार संघ, नेपाल ढुवानी व्यवसायी महासंघ लगायत विभिन्न क्षेत्रका संघ–संस्था तथा व्यवसायी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले माग–आपूर्तिको तथ्यांक व्यवस्थापन, पर्याप्त मौज्दात, सहज ढुवानी, प्रभावकारी बजार अनुगमन, गुणस्तर नियन्त्रण तथा सम्बन्धित निकायबीच समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सञ्चालन संघका वरिष्ठ उपाध्यक्ष दुर्गाराज श्रेष्ठले गरेका थिए भने समापन मन्तव्य तथा धन्यवाद ज्ञापन संघका कार्यसमिति सदस्य एवं वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिका सभापति चन्द्रबहादुर थापाले गरेका थिए ।






Comments are closed.