काठमाडौं । विश्व स्कुल दूध दिवस २०८३ को अवसरमा नेपाल डेरी एसोसिएसन केन्द्रीय समिति तथा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको संयुक्त आयोजना एवं नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ र अप्टिमिस्ट क्लब डेरी इन्टरप्रेनर्सको सहकार्यमा ललितपुर महानगरपालिका–११ स्थित श्री कुम्भेश्वर आधारभूत विद्यालयमा सचेतनामूलक कार्यक्रम राष्ट्रिय दुग्ध विकास बोर्डका नि. कार्यकारी निर्देशक डा. बालक चौधरीको प्रमुख आतिथ्यता आयोजना हुने भएको छ ।
हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने विश्व स्कुल दूध दिवस यस वर्ष सेप्टेम्बर ३०, २०२६ अर्थात् २०८३ असोज १४ गते बुधबार मनाइँदैछ। यसको सुरुवात सन् २००० मा भएको हो । विद्यालयमा दूधको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा विद्यालय दूध कार्यक्रमलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस विभिन्न देशमा “Strong Bones, Strong Moves: Milk Matters for Sport and Growing Bodies!” नाराका साथ विभिन्न कार्यक्रम सहित मनाइँदै आएको छ ।
बाल पोषण र स्वस्थ जीवनशैलीको आधार
बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि सन्तुलित आहार र पर्याप्त पोषण आवश्यक हुन्छ। दूध तथा दुग्धजन्य पदार्थ प्रोटिन, क्याल्सियम, भिटामिन बी–१२ लगायतका पोषक तत्त्वका स्रोत भएकाले सन्तुलित आहारको महत्वपूर्ण हिस्सा बन्न सक्छन्। त्यसैले विद्यालय तहदेखि नै दूध तथा दुग्धजन्य पदार्थको पौष्टिक महत्त्व, स्वच्छ तथा सुरक्षित दूधको सेवन र स्वस्थ खानपानका सम्बन्धमा बालबालिका तथा अभिभावकमा सचेतना अभिवृद्धि गर्नु आवश्यक छ।
विश्व स्कुल दूध दिवस केवल विद्यार्थीलाई दूध सेवन गराउने कार्यक्रम मात्र नभई पोषण शिक्षा, स्वस्थ खानपानको बानी र विद्यालय तथा समुदायमा पोषणसम्बन्धी चेतना अभिवृद्धि गर्ने अवसर पनि हो। विश्वका विभिन्न देशमा यस अवसरमा विद्यालयमा दूध वितरण, पोषण शिक्षा, वक्तृत्व तथा चित्रकला प्रतियोगिता, किसान तथा विद्यार्थीबीच अन्तरक्रिया र डेरी उद्योग अवलोकनजस्ता कार्यक्रम आयोजना हुँदै आएका छन् ।
किसानदेखि विद्यार्थीसमेत जोड्ने दुग्ध मूल्य शृंखला
नेपालजस्तो कृषि तथा पशुपालनमा आधारित अर्थतन्त्र भएको मुलुकमा विद्यालय दूध कार्यक्रमलाई बाल पोषणसँग मात्र सीमित नराखी किसान, दुग्ध सहकारी, दूध संकलन केन्द्र, डेरी उद्योग र विद्यालयलाई एउटै मूल्य शृंखलामा जोड्ने माध्यमका रूपमा विकास गर्न सकिन्छ। किसानले उत्पादन गरेको दूधको बजार विस्तार हुँदा किसानको उत्पादन र आम्दानीमा सहयोग पुग्न सक्छ भने स्थानीय दुग्ध उद्योगको उत्पादन, रोजगारी र आर्थिक गतिविधिलाई समेत टेवा पुग्ने सम्भावना रहन्छ। यस अर्थमा विद्यालय दूध कार्यक्रम बाल पोषण, स्वदेशी उत्पादनको प्रवर्द्धन, किसानको बजार र दुग्ध क्षेत्रको दिगो विकासलाई जोड्ने माध्यम बन्न सक्छ ।
नेपालमा राष्ट्रिय विद्यालय दूध कार्यक्रम आवश्यक
नेपाल डेरी एसोसिएसनले विद्यालय तहमा दूध तथा दुग्धजन्य पदार्थको पहुँच विस्तार गर्दै राष्ट्रिय विद्यालय दूध कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन आवश्यक रहेको बताउँदै आएको छ।
यसका लागि संघीय, प्रदेश तथा स्थानीय सरकार, विद्यालय, किसान, दुग्ध सहकारी, डेरी उद्योग, शिक्षक, अभिभावक तथा सम्बन्धित संघसंस्थाबीच सहकार्य आवश्यक छ। आवश्यक नीति, मापदण्ड, बजेट, गुणस्तर तथा अनुगमनको व्यवस्था गरी विद्यालय दूध कार्यक्रमलाई नियमित र दिगो रूपमा सञ्चालन गर्न सके यसले बालबालिकाको पोषण सुधारसँगै किसानको दूधको बजार विस्तार र स्वदेशी दुग्ध क्षेत्रको विकासमा समेत योगदान पुर्याउन सक्छ।
विश्व स्कुल दूध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसनले बालबालिकाको पोषण र स्वस्थ भविष्यका लागि दूध तथा दुग्धजन्य पदार्थको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न तथा विद्यालय तहमा सुरक्षित र गुणस्तरीय दूधको पहुँच विस्तार गर्न सबै सरोकारवालालाई सहकार्यका लागि आग्रह गरेको छ ।
एसोसिएसनका लागि यो दिवस एक दिन दूध सेवन गराउने कार्यक्रम मात्र नभई बालबालिकाको पोषण, किसानको उत्पादनको बजार, स्वदेशी दुग्ध उद्योगको प्रवर्द्धन तथा ग्रामीण अर्थतन्त्रलाई जोड्ने दीर्घकालीन अभियानको अवसर हो।
“विद्यालयमा दूध, बालबालिकामा पोषणस किसानको उत्पादनमा बजार, देशको अर्थतन्त्रमा योगदान।” विश्व स्कुल दूध दिवस २०८३ को अवसरमा एसोसिएसनले विद्यार्थी, अभिभावक, शिक्षक, किसान, दुग्ध सहकारी, डेरी उद्योग तथा सम्बन्धित सबै सरोकारवालामा शुभकामना व्यक्त गरेको छ ।






Comments are closed.