काठमाडौं । नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघले पशु आहार (दाना) को निरन्तर मूल्यवृद्धि नियन्त्रण, गुणस्तर सुनिश्चितता तथा वैज्ञानिक मूल्य निर्धारण गर्न सरकारसँग माग गरेको छ।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै दानाको मूल्य निरन्तर बढ्दा पशुपालन तथा दुग्ध उत्पादन क्षेत्रको लागत अत्यधिक बढेको जनाएको छ। विशेषगरी गाईभैँसीपालन तथा दुग्ध उत्पादनमा संलग्न किसानहरू मूल्यवृद्धिको प्रत्यक्ष मारमा परेको संघको भनाइ छ। दानाको मूल्य बढ्ने तर दूधको मूल्य र किसानले प्राप्त गर्ने प्रतिफल सोही अनुपातमा समायोजन नहुने अवस्थाले पशुपालन व्यवसाय जोखिममा पर्न थालेको संघले उल्लेख गरेको छ।
राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाको किसान पोर्टलमा प्रकाशित विवरणअनुसार नेपालमा विगतमा साना तथा मझौला गरी ११८ वटा पशु आहारा उद्योग सञ्चालनमा रहेका थिए भने दैनिक औसत २ हजार ६ सय मेट्रिक टन दाना उत्पादन हुने गरेको थियो। प्रयोगशालाको डिजिटल अभिलेखमा हाल ७५ वटा दाना उद्योग, ९८ वटा आयातकर्ता फर्म र तयारी दाना आयात गर्ने २८ वटा फर्म सूचीकृत छन्। यस्तै, नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनको विवरणमा ११५ वटा दाना उद्योग उल्लेख छन्। अभिलेखको दायरा र अद्यावधिक अवस्था फरक रहेकाले वास्तविक रूपमा सञ्चालनमा रहेका उद्योगको संख्या, उत्पादन क्षमता र बजार हिस्साको यकिन विवरण सार्वजनिक गर्न संघले माग गरेको छ।
सरकारी विवरणअनुसार दाना उत्पादनमा प्रयोग हुने मकै र भटमासको करिब ८० प्रतिशत तथा फिड एडिटिभ र सप्लिमेन्ट शतप्रतिशत विदेशबाट आयात हुने गरेको छ।
पछिल्लो समय मकै र भटमासको मूल्यमा भएको वृद्धिले दाना उत्पादन लागत बढाएको संघले जनाएको छ। संघले दानाको मूल्य निर्धारण गर्दा कच्चापदार्थको वास्तविक खरिद मूल्य, आयात खर्च, ढुवानी, उत्पादन लागत, सञ्चालन खर्च र उद्योगको उचित मुनाफासमेत समेटेर पारदर्शी तथा वैज्ञानिक विधि अपनाउन माग गरिएको संघका महासचिव श्रीकृष्ण भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विगत एक वर्षमा गाईभैँसी, कुखुरा, बंगुरलगायत विभिन्न पशुपन्छीका दानाको मूल्य कति प्रतिशतले वृद्धि भएको छ भन्ने आधिकारिक तथ्यांक संकलन गरी सार्वजनिक गर्नुपर्ने माग पनि गरेको छ।
त्यसैगरी, दाना उत्पादन तथा आयातको वास्तविक अवस्था, कच्चापदार्थको स्रोत, आयात परिमाण र मूल्यसम्बन्धी विवरण सार्वजनिक गर्नुपर्ने संघको माग छ। दानामा प्रयोग हुने मकै, भटमासको पिना, ढुटो, फिड सप्लिमेन्ट तथा अन्य कच्चापदार्थको पोषण गुणस्तर, ढुसी, अफ्लाटक्सिन, हानिकारक रासायनिक पदार्थ तथा एन्टिबायोटिकको अनधिकृत प्रयोग भएरनभएको नियमित प्रयोगशाला परीक्षण गर्नुपर्नेमा संघले जोड दिएको छ।
संघले स्वदेशी दाना उद्योगलाई आवश्यक सहुलियत, अनुदान, कर छुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ। उद्योगको लागतवृद्धिको सम्पूर्ण भार किसानमाथि थोपर्ने अवस्था अन्त्य गर्नुपर्ने र उत्पादन, आयात, बिक्री वितरण, मूल्य निर्धारण तथा गुणस्तर परीक्षणमा प्रभावकारी सरकारी अनुगमन हुनुपर्ने संघको भनाइ छ।
नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा विभाग, सहकारी क्षेत्र, दुग्ध विकास संस्थान, निजी डेरी उद्योग, दाना उद्योग, किसान प्रतिनिधि र विज्ञ सम्मिलित तत्काल बैठक आयोजना गरी तथ्यांक तथा वास्तविक लागतका आधारमा दीर्घकालीन समाधान खोज्न संघले आग्रह गरेको छ।
संघले उद्योगीले लगानीको उचित प्रतिफल पाउनुपर्ने र किसानले पनि उत्पादन लागत धान्न सक्ने गरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने जनाएको छ। दानाको मूल्यवृद्धिका कारण किसानले पशुपालन गर्न नसक्ने अवस्था सिर्जना भएमा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन घट्ने, आयात निर्भरता बढ्ने र उपभोक्ताले समेत महँगो मूल्य तिर्नुपर्ने अवस्था आउन सक्ने संघको चेतावनी छ।
दाना उद्योगको संरक्षण, किसानको लगानी सुरक्षा, पशुपालन व्यवसायको दिगोपना र स्वदेशी उत्पादन प्रवर्द्धनका लागि पशु आहारको मूल्य, गुणस्तर तथा बजार व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राख्न संघले सरकारसँग आग्रह गरेको छ।






Comments are closed.