पोउवा संघमा वित्तीय सशक्तिकरणबारे अभिमुखीकरण

पोखरा । पोखरा उद्योग वाणिज्य संघ तथा गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा पोखराका उद्योगी÷व्यवसायीहरुका निम्ति वित्तीय सशक्तिकरण र उद्यमशिलता विकासबारे अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघको वर्तमान कार्यसमिति,विभिन्न बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि एवं संघका साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै संघकी अध्यक्ष शोभा गौतमले मोफसलमा स्थापित गरिमा विकास बैंकले पूँजी निर्माण,उद्यमशिलता विकास तथा वित्तीय सशक्तिकरणका निम्ति गरेको योगदान सह्रानीय भएके बताइन् । सर्वसाधारणका निम्ति सहज पहुँचबाट नै बैंक तथा वित्तीय संस्थाहरु सफल बन्ने धारणा राख्दै अध्यक्ष गौतमले बैंक र वित्तीय संस्थाहरुबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताइन् ।
उनले नेपाल राष्ट्र बैंकबाट पछिल्लो समय जारी आर्थिक सूचाङ्कहरु सकारात्मक भए पनि निक्षेप बढ्दा किन निजी क्षेत्रमा जाने कर्जा प्रवाह बढ्न सकेको छैन भन्ने प्रश्नको कारण खोज्नुपर्ने धारणा राखिन् ।

कार्यक्रमको दौरानमा उद्योगी व्यवसायीहरुले गरिमा विकास बैंकको वित्तीय अवस्थादेखि बैंकले किन एकाएक ब्याज बढाउँछन् ,बिना धितो कर्जाको कार्यान्वयन किन हुँदैन ? भन्नेजस्ता प्रश्न राखेका थिए । खराब कर्जा,बैंकबाट धितो लिलामी प्रक्रिया,सेवा शुल्कलगायतका विषयमा पनि त्यहाँ प्रश्नहरु उठेका थिए ।

ती प्रश्नहरुको उत्तर दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले गरिमा विकास बैंकले निक्षेपकर्ताको निक्षेप सुरक्षा गर्दै न्यूनतम् दरमा कर्जा प्रवाह गरिरहेको बताए । उनका अनुसार देशका विभिन्न ठाउँमा १२६ वटा शाखा रहेको बैंकले खासगरी साना तथा मझौला उद्योगीका निम्ति कर्जा प्रवाहमा विशेष जोड दिँदै आएको छ ।

प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार संचालन हुने प्रष्ट पार्दै बढी नाफा र लुकाएर शुल्क लिने जस्ता काम गरिमा विकास बैंकले नगर्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा कम्तिमा सम्झौतमा लेखिएका विषयहरु पढेरमात्र दस्तगत गर्न आग्रह पनि गरे ।

बैंकका डेपुटी कार्यकारी प्रमुख अनिल रेग्मीले गरिमा विकास बैंकको वर्तमान वित्तीय अवस्थाबारे जानकारी दिँदै छिट्टै बैंकको ठूलो संख्यामा पोखरामा ग्राहक रहेको जानकारी गराए । विकास बैंकहरुले प्रदान गर्ने सवै सेवाहरु बैंकले दिइरहेको र वाणिज्य बैंकले प्रवाह गर्ने सेवा पनि गरिमाबाट पाइने बताउँदै उनले गरिमासँग कारोबार गर्न उद्योगी–व्यवसायीसमक्ष आग्रह पनि गरे ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य गोकर्ण कार्कीले गरिमा विकास बैंकले सेवा प्रवाहबाटै आफूलाई प्रमाणित गरेको बताउँदै उद्यमशितता विकास,रोजगारी सिर्जना र देशको कुल ग्राहस्थ उत्पादन बढाउने क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्नुपर्ने धारणा राखे ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव सुदीप प्रधानाङ्गको संचालन तथा कार्यसमिति सदस्य तथा सो कार्यक्रम संयोजक केशव ढकालको धन्यवाद ज्ञापन रहेको कार्यक्रममा यस्ता उत्प्रेरणा एवं जानकारीमूलक कार्यक्रम समय–समयमा संचालनको सहमति बनेको थियो ।

You might also like

Comments are closed.

Secret Link