प्रिती बुद्धाचार्य बनिन् मिस नेवा

पोखरा, १७ चैत ।
नेवा खल कास्कीले आयोजना गरेको सिजी मिस नेवा पोखरा ११३८ को ताज प्रिती बुद्धाचार्यले पहिरिएकी छन् । २० प्रतिश्पर्धीलाई पछि पार्दै उनले ४० हजारसहितको बिभिन्न गिफ्ट ह्यामपर प्राप्त गरेकी छन् ।

शुक्रबार भएको ग्रान्ड फिनालिमा प्रितीले बेस्ट ट्यालेन्ट र बेस्ट नेवारी भाषाको समेत टाइटल हात पारिन् । मिस नेवा प्रितीले नेवारी भाषा, संस्कृति र मौलिकता जगाउन अग्रसर हुने प्रतिवद्धता जनाएकि छन् । ताज जितेको खुसी साट्दै उनले त्यसको श्रेय आफ्ना बुवाआमालाई दिइन् ।

फस्ट रनरअप प्रियंका श्रेष्ठ र सेकेन्ड रनरअप जेनिफर श्रेष्ठ बनेका छन् । प्रियङ्काले २५ हजार र जेनिफरले १५ हजारसहित बिभिन्न उपहार प्राप्त गरेका छन् । प्रतियोगितामा बेस्ट पर्सनालिटी रोजिना ताम्राकार, बेस्ट फ्रेन्डली सन्ध्या श्रेष्ठ, बेस्ट फोटोजेनिक सृष्टि श्रेष्ठ र सचिता ताम्राकारले हात पारे । उनीहरुलाई जनही ५ हजारका साथमा विभिन्न उपहार दिइयो ।

कार्यक्रममा प्रदेश सांसद कृष्ण थापाले नेपाली सुन्दर र सुन्दरीहरु बस्ने देश भएको बताए । अब नेपाल समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै उनले थपे, ‘समृद्धिको यात्रामा मिस नेवाका प्रतिश्पर्धीले समेत योगदान गर्ने छन् भन्ने हाम्रो अपेक्षा छ ।’

नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले प्रतियोगितामा विजेता १ मात्र बन्ने भए पनि व्यक्तित्व विकास र यसबाट फाइदा सबैले लिन सक्ने बताए । नेवारी युवतीहरुमा संस्कार, भाषा र आत्मविश्वास बढाउन प्रतियोगिता सहायक सिद्ध भएको छ, उनले भने ‘यो सुन्दरी प्रतियोगिता होइन, हाम्रा नानीहरुलाई सक्षम बनाउने मञ्च हो ।’

मिस नेवाका मूल संयोजक गजेन्द्रमान श्रेष्ठले मिस नेवाबाट नेवारी महिला सशक्तीकरणमा सहयोग पुग्ने अपेक्षा गरे । प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

प्रतियोगिताका निर्णायकहरुमा डा. इन्द्र महर्जन, ध्रुव श्रेष्ठ, पोमनारायण श्रेष्ठ, रत्नकाजी महर्जन, रञ्जिता कर्माचार्य, कल्याणी श्रेष्ठ र सम्शेरबहादुर नुछे प्रधान थिए ।कार्यक्रम सञ्चालन प्रचारप्रसार संयोजक अनिशा श्रेष्ठ, सारा बजिमय र सेलिका श्रेष्ठले गरेका थिए ।

lcci
You might also like

Comments are closed.