ललितपुरमा कोरोनाबाट ४८ जनाको मृत्यु    

 

काठमाडौं । ललितपुरमा सक्रिय सङ्क्रमितको संख्या २ हजार ५  भन्दा बढी  छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म २ हजार ५सय ७ सक्रिय सङ्क्रमित संख्या छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

जिल्लामा कोरोना सङ्क्रमितको संख्या ५ हजार १ सय ५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या  २ हजार ६सय ३ पुगेको स्वास्थ्य कार्र्यालय प्रमुख डा खगेश्वर गेलालले जानकारी दिए । उनले भने, “धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेकाले यहाँ दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढीरहेको देखिन्छ, सार्वजनिक यातायातमा हिँड्ने आधाजसो मानिसले मास्कको उचित प्रयोग नगर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि हेलचक्र्याइ गरिरहेका छन् ।”

कोभिड सङ्क्रमित स्वयंले सजक भएर घरमा एकान्तबास बसिदिँदा यसको न्यूनीकरण चाँडै हुने गेलालको भनाई छ । लपु महानगरपालिकामा सक्रिय सङ्क्रमित संख्या एक हजार ५ सय ८८ र मृतकको संख्या २७ पुगेको छ ।

मृतकको उमेर भने ५५ वर्षदेखि ६० वर्षमाथि रहेको प्रवक्ता राजु महर्जनले बताए । उनले भने, “यहाँ जम्मा सङ्क्रमित सङ्ख्या तीन हजार ३४६ र डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ३१ रहेको छ ।” कोरोना महामारी बढ्दै गइरहेकाले जनता स्वयं आफैँ जिम्मेवार हुनुपर्ने महर्जनले बताए । “यहाँ होम आइसोलेसनमा मृत्यु हुनेको शव व्यवस्थापन गर्न ग्राहो भइरहेको छ”, उनले भने ।

यसैगरी महानगरपालिकामा पुरुषभन्दा महिला सङ्क्रमित संख्या बढी छ । जसमा १ हजार ४ सय ८३ महिला र १ हजार ४सय २ पुरुषले कोरोनाको प्रभाव झेलिरहेका ¥यापीड रेसपोन्स टिमकी संयोजक देवी गुरुङ्ले बताईन् । गोदावरी नगरपालिकामा सक्रिय सङ्क्रमित संख्या १९४ र मृतकको संख्या ५ पुगिसकेको नगरपालिकाले जनाएको छ ।

गोदावरीमा कूल सङ्क्रमित सङ्ख्या ३ सय ८१ र निको भएर डिस्चार्ज हुने संख्या १ सय ९९ पुगेको छ । गोदावरीले वडा नं ६ टीकाभैरवको आनन्दवन अस्पताल तथा वडा नं ११ को बज्रबाराही चापागाउँ अस्पतालमा आइसोलेसनको व्यवस्था गर्नुका साथै वडा नं ४ बडिखेलको कोरियन होटलमा कवारेन्टाइनको पनि व्यवस्था गरिरहेको प्रवक्ता मिलन सिलवालले बताए ।

महालक्ष्मी नगरपालिकामा सक्रिय सङ्क्रमित ३ सय ४७ र हालसम्म तीन नगरवासीले मृत्युवरण गरिसकेका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए । उनले भने, “तीमध्ये होम आइसोलेसनमा ३२५ र अस्पतालको आइसोलेसनमा २२ जना छन् ।” महालक्ष्मीमा जम्मा सङ्क्रमित संख्या  ६ सय ६ र यसमा स्वास्थ्य लाभ गर्ने २५६ रहेका पोखरेलले जानकारी दिए ।

नगरपालिकाभित्र कोरोना सङ्क्रमित संख्या बढेसँगै आफूहरुले परीक्षणको दायरा बढाएको र निरिन्तर रुपमा सचेत पनि गराइरहेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए । उनले भने, “सङ्क्रमितको अवस्थालाई मध्यनजर गरेर नगरपालिका विभिन्न वडामा ८० शय्याको क्वारेन्टिनको व्यवस्था गरिरहेका छाँै ।” अक्सिजन अभावका कारण आइसोलेसनको भने व्यवस्था गर्न नसकेको श्रेष्ठले जानकारी दिए ।

महाङ्काल गाउँपालिकामा सक्रिय सङ्क्रमित ५ र बाँकी ९ निको भएर डिस्चार्ज भइसकेका स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए । उनले भने, “यहाँ जम्मा सङ्क्रमित संख्या १४  छन् ।” कोरोनाको लक्षण देखिएकालाई महाङ्काल विद्यालयमा राख्ने गरेको र वडा नं ३ गोटिखेलमा पाँच शय्याको आइसोलेसन बनाउने तयारी भइरहेको चन्दले जानकारी दिए ।

वाग्मतीमा एक महिने शिशु सङ्क्रमित     

दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा एक महिने शिशुमा कोरोना पोजेटिभ देखिएको छ । आमा सुत्केरी हुन अस्पताल जाँदा आमा र शिशु दुवैमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए । वाग्मतीका एक व्यक्ति अस्पतालमा, सातको डिस्चार्ज भइसकेको र यहाँ कूल सङ्क्रमित सङ्ख्या १५ मात्र रहेका तिमिल्सिनाले जानकारी दिए ।

कोञ्ज्योसोमका तीन दिनको शिशुमा कोरोना पोजेटिभ     

कोञ्ज्योसोम गाउँपालिकाका तीनदिने शिशुमा कोरोना पोजेटिभ देखिएको छ । सुत्केरीसहित शिशुमा कोरोना देखिएको स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताए । उनले भने, “यी महिला, शिशु र घरका अन्य दुई परिवार गरेर चार जनामा कोरोना पोजेटिभ देखिएको छ, यहाँ पुरुषको तुलनामा सङ्क्रमित महिला संख्या बढी नै रहेको छ, भारदेउमा रहेको बैंकका एक कर्मचारीमा कोरोना देखिदा हिजोबाट एक हप्ताका लागि यो बैंक पनि बन्द भइसकेको छ ।” कोञ्ज्योसोममा सङ्क्रमित सङ्ख्या १३ रहेको महतोले जानकारी दिए ।

You might also like

Comments are closed.