कर उठाउने नगरले फोहर नउठाउदा बजार दुर्गन्धित

ताप्लेजुङ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ तोक्मेडाँडा हटियामा नगरपालिकाले फोहर उठाउन छाडेपछि दिनदिनै बजार दुर्गन्धित बन्दै गएको छ । तोक्मेडाँडामा विगतदेखि नै मंगलबार र शनिबार गरी हप्ताको दुई दिन हटिया बजार लाग्दै आएको छ ।

स्थानीय कृषकले उत्पादन गरेको सागसब्जी, भटमासबाट तयार पारिएको किनिमा, स्थानीय दिदीबहिनीले बनाएको जाँडरक्सीका लागि मर्चा साथै स्थानीय उद्यमीहरुको आफ्नो उत्पादन बिक्री गर्ने केन्द्र विन्दु हो, हटिया बजार । यहाँ जिल्लाका साना तथा घरेलु उद्योगदेखि गाउँघरका उत्पादन, वनजङ्गलमा पाइने निगुरो, याङबेङ जस्ता अग्र्यानिक वस्तु खरिद बिक्री हुने गर्दछ । गाउँगाउँ उत्पादन गरेको सागसब्जी बिक्री गर्ने प्रमुख थलो हो, हटिया बजार । तर त्यहाँ फोहोर मैला थुपारिएको दृश्य जो कोहीले सजिलै हेर्न सकिन्छ । फोहरमा बसेर व्यापार व्यवसाय गर्ने नियती बन्दै गएको स्थानीयवासी सुकमाया राईले बताईन् ।

नगरपालिकाले सुनदेखि नुनसम्मको कर उठाउने गरेको भए पनि त्यहाँको फोहोर उठाउने गरेको छैन । कर तिरेपछि फोहर मैलामा बसेर आफ्नो उत्पादन गरेको सागसब्जी बिक्री गर्नुपर्दा आफँैले नमज्जा लागेको अर्का किसान निर्मला राईको भनाइ छ । क्रेता तथा बिक्रेता भेट हुने प्रमुख केन्द्र हटिया भएकाले यहाँको फोहोर उठाउन सरोकारवालाले ध्यान दिनुपर्ने हटियामा किनमेल गर्नआएका तेज भट्टराईले बताए ।

बजारबाट निस्किएको फोहर मैलालाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर ठाउँ—ठाउँमा डस्टबिन राख्नुपर्ने माग स्थानीवासीको छ । बजारमा फोहर मैला त हुने नै भो तर नगरले प्रत्येक बिक्रेताबाट रु १० देखि एक सयसम्म बहाल विटौडी कर उठाउँदै आएकाले यहाँको फोहर मैला व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने ज्ञानेद्र पौडेलको भनाइ छ ।

फुङलिङ नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा रु ५ लाख ५१ हजार तथा चालु आर्थिक वर्षमा रु दुई लाख ५१ हजारमा राजकुमार तामाङलाई हटियाको ठेक्का दिएको छ । हटिया बजारमा मात्र होइन फुङलिङ बजारमै पनि फोहर मैला व्यवस्थापन हुन सकेको छैन । तोक्मेडाँडा बसपार्कदेखि लिएर विभिन्न चोकमा साथै ढलहरुमा फोहर मैला भरिएको छ । फुङलिङ नगरपालिकाभित्र डस्टबिन राखेको छैन । फुङलिङ नगरपालिकामा फोहर मैला व्यस्थापन गर्नका लागि आव २०७६÷७७ मा कुमार लिम्बूले रु १७ लाखमा ठेक्का लिएको थियो । कोरोनाका महामारीका कारणले गर्दा फोहर मैला व्यवस्थापनमा समस्या आएपछि चार महिनाको रु ५ लाख ६६ हजार ३३४ छुट नगरपालिकाले दिएको थियो ।

रु ५ लाख ६६ हजार ८३३ यस अगाडि नै नगरपालिकामा ठेकेदर लिम्बूले भुक्तानी गरिसकेको छ, भने रु ५ लाख ६६ हजार ८३३ नगरपालिकामा भुक्तानी गर्न बाँकी रहेको फुङलिङ गरपालिकाका सूचना अधिकारी भुपाल सेन्दाङले जानकारी दिए । यस आर्थिक वर्षको फोहर मैला व्यवस्थापनका लागि चार पटक ठेक्का आह्वान गर्दा पनि कुनै ठेक्का नपरेको सूचना अधिकारी सेन्दाङले बताए । यस आवमा ठेक्का नलागेपछि नगरपालिकाले अहिलेसम्म व्यवस्थापन गर्दै आएको र नगरवासीसँग कुनै शुल्क पनि अहिलेसम्म नलिएको सूचना अधिकारी सेन्दाङले बताए ।

हटिया बजारमा भएको सार्वजनिक शौचालयदेखि त्यहाँको सरसफाइ गर्न एकजना कर्मचारी नै राखेर फोहरमैला व्यवस्थापन भइरहेको फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्यकुरेलले बताए ।

You might also like

Comments are closed.