व्यास नगरपालिकाको आन्तरिक आम्दानी ४ करोड रुपैयाँ

तनहुँ ।  तनहुँको व्यास नगरपालिकाले तीन महिनाको अवधिमा ४ करोड रुपैयाँभन्दा बढी आन्तरिक आम्दानी गरेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म नगरपालिकातर्फ ३ करोड १६ लाख ८६ हजार रुपैयाँ र जग्गा रजिष्ट्रेशन दस्तुरबापत रु ८५ लाख आन्तरिक आम्दानी भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको थियो ।  कोभिड–१९ को प्रभावका कारण गत आर्थिक वर्षमा लक्ष्यभन्दा ६ करोड रुपैयाँ कम राजश्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षमा र १६ करोड ६ लाख ९६ हजार रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य थियो ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि १६ करोडको आन्तरिक आम्दानीको लक्ष्य लिएको थियो । आन्तरिक राजश्वतर्फ सम्पत्ति, मालपोत, घरबहाल, विज्ञान, व्यवसाय, मनोरञ्जन, प्राकृतिक स्रोतसाधन उपयोग करलगायतबाट ९ करोड २६ लाख ८८ हजार रुपैयाँ, शुल्कतर्फ सेवा, सवारी पार्किङ, सरसफाई, शौचालय, बस्ती विकास, सम्पत्ति मूल्याङ्कन, अन्य प्रमाणित, स्थानीय वातावरण शुल्कबाट १ करोड ७८ लाख ७२ हजार रुपैयाँ, दस्तुरतर्फ दर्ता र नवीकरण, घरनक्सा, सिफारिस, नाता प्रमाणित, मिलापत्रबाट २ करोड ६४ लाख ६० हजार, दण्ड जरीवानाबाट २ लाख, घरभाडा, मेशनरी उपकरण भाडा, लिलाम बिक्री, परीक्षा, विविध फारम तथा अन्यबाट २ करोड २७ लाख ८० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।

You might also like

Comments are closed.