प्याजका बिरुवा अभाव

बलेवा । गत वर्ष प्याजका बिरुवा बिक्री गरेर रु पाँच लाख मुनाफा गरेका बागलुङ नगरपालिका–१ रामरेखाका किसान रमेश थापालाई यो वर्ष लगानी उठाउनसमेत कठिन भयो । बिरुवा बिक्रीबाट आएको रकम बीउ, मल र बिरुवाका लागि ब्याड तयार गर्न भएको खर्च हिसाब गर्दा उहाँको लगानी मुस्किलले उठ्यो ।

बिरुवा बिक्रीका लागि तयार हुँदा बिहानदेखि बेलुकासम्म थापाको घरमा भीड लाग्यो । ठूलो ब्याडमा तयार भएका झण्डै दुई लाख बिरुवा थापाले दिनरात गरेर दुई दिनमा सके । ब्याड राख्ने बेलामा बीउको अभाव र लगाएको बीउसमेत राम्रोसँग नउम्रिएकाले थापाले यो वर्ष प्याजका बिरुवामा क्षति ब्यहोर्नु परेको हो ।

“यो वर्ष लगानी राम्रै गरेर मुनाफा पनि बढाउने सोच थियो, तर समयले धोका दियो”, थापाले भने, “नत बचन दिएकालाई बिरुवा पु¥याउन सकियो, न आफूले चिताएको जस्तो कमाइ नै भयो ।” उहाँले लामो समयदेखि रामरेखामा जग्गा भाडामा लिएर तरकारीका बिरुवा उत्पादन तथा बिक्रीवितरण गर्दै आउनुभएको छ ।

व्यावसायिक बिरुवा उत्पादकको रुपमा परिचय बनाएका थापाको शेरमाई कृषि, वन तथा पशुविकास फार्म छ । “बीउ उत्पादन हुने समयमा भएको अधिक वर्षाले यो वर्ष बजारमा बीउ नै पाइएन”, थापाले भने, “आउँदो असारमा फसल दिने प्याजको उत्पादन पनि घट्ने देखेको छु ।”

यस्तै, जैमिनी नगरपालिका–१० राङ्खानीका मित्र थापाले पनि प्याजका बिरुवा उत्पादन र बिक्री वितरण गर्न थालेको पाँच वर्ष भयो । हरेक वर्ष दुईरतीन लाख मुनाफा कमाउने उनले प्याजका बिरुवाबाटै निकाल्ने गरेको तर यो वर्ष भने मित्रलाई पनि लगानी उठाउन कठिन भयो । मित्रको पनि बीउ र बिरुवामा नै समस्या देखापरेकाले उत्पादन कम भएको हो ।

“उम्रिएका बिरुवामासमेत डडुवा लाग्यो, आधा बीउ उम्रिएन”, थापाले भने, “नासी क्रेट जातको बीउ लगाएको, राम्रो हुन्छ भनेको नराम्रो भयो ।” उनले यो वर्ष दुई लाख बिरुवा मात्रै आफ्नो फार्ममा उत्पादन भएको बताए । बिरुवाको माग अत्याधिक रहेको भए पनि सबैलाई उपलव्ध गराउन नसकेको उनको भनाइ छ ।

व्यावसायिक किसानका जस्तै घरायसी प्रयोजनका लागि उत्पादन गर्दै आएका किसानले समेत यो वर्ष बीउ नपाउँदा बागलुङमा प्याजका बिरुवाको अभाव छ । गत वर्षमा भन्दा मूल्यवृद्धि भएको भए पनि बिरुवा नपाएका किसान बताउँछन्।् । गत वर्ष एक रुपैयाँमा पाँच वटाका दरले बागलुङमा प्याजका बिरुवाको कारोवार भएको थियो । यो वर्ष भने एक रुपैयाँका दुई वटा मात्रै बिक्री भएका छन् ।

You might also like

Comments are closed.

Secret Link