‘उद्योगमा राजनीतिभन्दा सरकारी नीतिले फरक पार्छ’

पोखरा, १२ साउन ।

उद्योगी तथा व्यवसायी पद्म ज्योतिले उद्यमी बन्न बोली, सोच र कामप्रतिको लगाव हुनुपर्ने सुझाव दिएका छन् । उनले कुनै पनि उद्यमीमा स्पष्ट र सकारात्मक सोचक, शिष्ट र मृदुल भाषा हुनुपर्ने बताए । ‘त्यतिले मात्रै पुग्दैन काम प्रतिको लगाव र इमान्दार पनि हुनुपर्छ ।’

व्यापार व्यवसायमा नाफाघाटा भइरहने हुँदा नकारात्मक भावना नराखी काम गर्न ज्योतीले उद्यमीलाई सुझाव दिए । ‘सुरुमा असफल भइन्छ नै तर त्यसबाट सिकेर अघि बढे अवश्य सफल भइन्छ,’ उनले भने । व्यवसायमा स्मार्ट तथा चलाखभन्दा नेतृत्व गर्न सक्ने खुबी भएको नेताको आवश्यकता पर्ने उनले बताए । उनले भने, ‘व्यक्तित्व र चरित्र फरक कुरा हुन हामीले सधैं ख्याल राख्नुपर्छ ।’

उद्यमी बन्ने सपना देखिरहेका युवापिंढीलाई पहिले पढाइ पूरा गर्न उनले आग्रह गरे । ‘व्यवसायमा शिक्षा र बेसिक टेक्निक जरुरी छ, शिक्षा नै पूरा नगरी उद्यमी बन्ने सपना देख्नु हुँदैन,’ उनले भने । उद्यमीमा आत्मविश्वासको आवश्यकता पर्ने भएकाले त्यतातर्फ पनि सोच्न उनले सुझाव दिए ।

होटेल स्नोल्यान्डले शुक्रबार उद्योगी तथा व्यवसायी ज्योतीसँग गरेको ‘क्रस दी बोर्डर’ छलफल कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै उनले उद्यमीलाई सुझाव दिएका हुन् । उनले सफल व्यवसायीले कहिल्यै घमन्ड गर्न नहुनेसमेत सुझाए । ‘सबै काममा एउटा व्यक्तिमात्रै सक्षम हुन्छ भन्ने हुँदैन । सबैको कुनै न कुनै क्षेत्रमा ज्ञान हुन्छ,’ उनले भने, ‘उद्योगीमा सफल भएपनि अन्य क्षेत्रमा सुरुदेखि नै सुरु गर्ने नै सफल व्यक्ति हुन्छ ।’

नेपालका विभिन्न समयमा भएका राजनैतिक हस्तक्षेपले व्यवसायीलाई दुख दिएपनि व्यवसाय सफल हुन राजनीतिक नीतिभन्दा सरकारी नीतिले ठूलो भूमिका खेल्ने उद्योगी ज्योतीको भनाइ थियो ।

ज्योतिले आफ्नो कम्पनी (ज्योती ग्रुप)ले धेरै उतरचढाव पाएपछी मात्रै सफलता हासिल गरेको खुलाए । ‘हजुरबुवाले काठमाडौंमा व्यापार गर्नेबेला आगलागी भएर टाट पल्टिएका थियौं, धेरै ऋण लागेको थियो, पछि भारतको कलकत्ता गएर ल्हासासम्म व्यापार गरेपछि मात्रै हाम्रो आर्थिक अवस्था सुध्रिएको हो,’ उनले भने, ‘कलकत्तामा रहँदा ४ वटा फलाम खानी भाडामा लिएर फलाम उद्योग सुरु गरेको र १२ वर्षपछि नेपाल आएर ऋण तिर्न सफल भयौं ।’ उनले लिएको ऋण तिरे त्यसले पछिसम्म सकारात्मक प्रभाव पार्ने दाबी गरे ।

कलकत्तामा विद्यालय स्तरको शिक्षा, कानपुरमा मेकानिकल इञ्जिनियरिङ र अमेरिकामा उच्च शिक्षा हासिल गरिसकेका ज्योती नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत हुन् । उनको हाइड्रोपावर, सिमेन्ट उद्योग, स्वास्थ्यजस्ता क्षेत्रमा लगानी छ । युवालाई रोजगार खोज्नभन्दा आफै व्यापार गरे देशको विकास चाँडै हुने उनको थम्याई छ । ‘युवा जमात जति उद्यममा सक्रिय हुन्छ, त्यति देश समृद्धितर्फ जान्छ,’ उनले भने ।

व्यावसायी ज्योतीले आफू उद्योग वाणिज्य संघको अध्यक्षमा रहँदा उद्योग क्षेत्रमा धेरै परिवर्तन गरेको बताए । उनको कार्यकालमा पञ्चायत सरकारले लिदैं आएको चुंगीकर रोक्ने, नेपाल भारत व्यापार ट्रान्जिट र परिवहन हटाउने, दुवै देशका प्रधानमन्त्रीसमक्ष उद्योगी तथा व्यवसायीको माग अनुरुप संयुक्त ज्ञापनपत्र बुझाउने, सरकारी कर नीतिमा परिवर्तन गरेर भ्याट सिस्टम लागु भएका थिए ।

होटल स्नोल्यान्डले प्रत्येक महिना एक उद्योगीसँग गर्दै आइरहेको ‘क्रस दी बोर्डर’ गर्दै आइरहेको छ । वक्ताका रुपमा आएका उद्योगी तथा व्यवसायीले आफ्ना अनुभव तथा सुझाव दिने गर्छन् । कार्यक्रमले उद्यमशिलताको प्रर्बधन गर्ने होटलका सञ्चालक गणेश थापाले विश्वास व्यक्त गरे । कार्यक्रमले उद्यमी बन्न खोजिरहेका युवालाई सफलताको सूत्र बन्न सक्ने उनले बताए ।

You might also like

Comments are closed.