श्रीराम सुवेदी, पोखरा । तनहुँ रत्न पुरस्कारबाट पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापालाई सम्मान गरेको छ ।
तनहुँ सम्पर्क समाज पोखराको १९ औँ स्थापना दिवसको अवसरमा थापालाई ताम्रपत्र, नगद १० हजार र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
समाजका पूर्व अध्यक्ष शिवराज पौडेलको संयोजकत्वमा उपाध्यक्ष भुवन पराजुली काफ्ले र सदस्य भिम रानाभाटको पुरस्कार छनौट समितिले उक्त पुरस्कार दिने निर्णय गरेको थियो ।
कार्यक्रममा बोल्दै उपकुलपति थापाले समाजको सम्मानले सामाजिक कार्यमा हौसला बढाएको बताए । ‘समाजले के दियो हैन, समाजलाई के दिन सक्छु’ भन्ने मान्यताले लगनशील भएर लाग्ने जो कोही आफ्नो क्षेत्रमा सफल बन्न सकिने रहेछ भन्ने शिक्षा आफुले लिएको बताउँदै प्रा.डा. थापाले आज यो समयसम्म संघर्षशील दिनलाई फर्केर हेर्दा कता कता कहाली लाग्छ तर यस्तै सबैको माया, साथ र सम्मानले ती सबै बिर्सेर सामाज एवम् सामाजिक कार्यकै लागि अबका समय खर्चने भाव समेत व्यक्त गरेका थिए।
कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु चन्द्रविक्रम अधिकारी, मुरलीमोहन काफ्ले, ईश्वरप्रसाद सुवेदी, सल्लाहकार निलकण्ठ शर्मा, श्रीकान्त शर्मा खतिवडालगायतले समाजले गर्ने सामाजिक गतिविधि तथा समाजको पहिचान बोक्ने कार्यलाई निरन्तरताको शुभकामना व्यक्त गरेका थिए ।
समाजले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसर पारेर स्थायी ठेगाना तनहुँ भई हाल पोखरालाई कार्यथलो बनाएर विभिन्न विधामा रहि सामाजिक कार्यमा अग्रसर व्यक्तित्वलाई समाजले स्थापना गरेको अक्षयकोषबाट उक्त सम्मान तथा पुरस्कार दिने निर्णय गरेको अध्यक्ष अम्बिका प्रसाद भट्टराईले जानकारी दिएका थिए ।
समाजका निवर्तमान अध्यक्ष तथा पुरस्कार छनौट समितिका संयोजक शिवराज पौडेलले पुरस्कृत प्रतिभाको परिचय र कार्यक्रमको प्रकाश पारेका थिए। समाजका अध्यक्ष अम्बिकाप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भरत केसीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव यामबहादुर सुर्खालीले सञ्चालन गरेका थिए ।
Comments are closed.