एसियाली खेलकुदमा नेपाली प्याराग्लाइडिङ टोली

पोखरा, २२ साउन । इण्डोनेशियामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार पोखराबाट प्रस्थान गरेको छ । पोखराबाट जान लागेको टिमलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रीय महासचिब शैलेन्द्र राउत, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक लगायतले विदाई गरे ।

पहिलो पटक एशियाली खेलमा समाबेश गरिएको प्याराग्लाइडिङ खेलमा सहभागी जनाउनेमा नेपालका ५ जना पुरुष र ३ जना महिला खेलाडीहरु छन् । आठै जना कास्कीका खेलाडी हुन् । टिममा कान्छा उमेरका १६ वर्षीय खेलाडी युकेश गुरुङ पनि छन् ।

नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला पुरुष खेलाडीले छुट्टा–छुट्टै पदकका लागि भिड्ने छन् । नेपालले प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना रहेको खेल मध्ये एक हो ।

आज प्रस्थान गर्ने खेलाडीहरुमा बिमल अधिकारी (टिम कप्तान) विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ, बिजय गौतम र महिला खेलाडीहरुमा त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ छन् । टिम संग प्रशिक्षक योगश भट्टराई पनिसंगै प्रस्थान गर्दै छन् ।

नेपाली टिम थप प्रशिक्षणका लागि एक साता अघि नै इण्डोनेशिया जान लागेको प्रशिक्षक भट्टराईले बताए । ‘प्याराग्लाइडिङ खेल आयोजना हुने स्थानको हावाको चाप लगायतले पनि प्रभाव पार्ने हुनाले खेलाडीलाई त्यहाँ अभ्यस्त बनाउन एक साता अघि नै जान लागेका हौ,’ उनले भने ।

नेपाली टिमका व्यवस्थापक शैलेन्द्र राउत र अर्का प्रशिक्षक सानुबाबु सुनुवार भने एक साता पछि त्यस तर्फ प्रस्थान गर्ने बताइएको छ । प्याराग्लाइडिङ खेल अगस्त १८ देखि ३० गतेसम्म आयोजना हुँदैछ ।

You might also like

Comments are closed.