पोखरा २६, साउन ।
बढ्दो मानव बेचबिखनलाई नियन्त्रण गर्ने अठोटका साथ पोखराको थ्री एञ्जल्स नेपालले सचेतना अभियान थालेको छ । मानव बेचविखनको मारमा विशेषत १६ वर्षदेखि २५ वर्ष उमेर समूहका युवायुवती पर्ने गरेको अवस्थालाई दृष्टिगत गरी सचेतना अभियान शुरु गरिएको हो ।
थ्री एञ्जल्स नेपालका फिल्ड संयोजक झरना शर्माका अनुसार संस्थाले कास्कीका अमरसिंह नमूना मावि अमरसिंह, सिद्ध मावि फलेपाटन, राम आधारभूत विद्यालय सिमलचौर र जनप्रिय माविमा विद्यार्थीहरुका लागि सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ ।
पछिल्ला समयमा मानव बेचविखनमा नयाँ–नयाँ प्रयोग बढ्दै जानु चुनौतीपूर्ण बनेको भन्दै संस्थाले प्रयोगात्मक विधिको माध्यमबाट यस सम्बन्धमा सचेतना प्रदान गरेको हो । प्रत्येक विद्यालयमा ७५ जना विद्यार्थीलाई १५÷१५ जनाको दरले समूहमा विभाजन गरी खेलका माध्यमबाट ७५ मिनेटको समयावधिमा मानव बेचबिखन सम्बन्धमा जानकारी गराउने गरिएको शर्माले जानकारी दिईन् । सचेतनाको अभावमा युवायुवती दिनानुदिन बेचविखनमा परेका समाचार आउने गरेको राम आधारभूत विद्यालयका प्रधानाध्यापक तीर्थराज न्यौपानेले बताए । ‘‘मानव बेचबिखन नियन्त्रणका लागि यस किसिमका सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउनु आवश्यक छ’’ उनले भने ।
मानव बेचविखन विरुद्ध “हाम्रो अभियान” नामक उक्त सचेतना कार्यक्रमका लागि थ्री एन्जल्स नेपालका कर्मचारीहरु फिल्डमै खटिने गरेका छन् ।
Comments are closed.