सेती नदी जलविद्युत आयोजनाको सिभिलतर्फ ४५ प्रतिशत काम सम्पन्न

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाको ४५ प्रतिशत काम सम्पन्न भएको छ । डेढ वर्ष अगाडिबाट निर्माण सुरु भएको आयोजनाको सिभिल तर्फ ४५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा विकास कम्पनीका अध्यक्ष जगत पोखरेलले आर्थिक आवाजलाई जानकारी दिए ।

‘कोरोना महामारी र लकडाउनको समयमा पनि निर्माणको काम धमाधम भइरहेको छ,’ अध्यक्ष पोखरेलले भने, ‘अबको डेढ वर्षभित्रै आयोजनाको सम्पूर्ण काम सम्पन्न भई विद्युत उत्पादन सुरु हुनेछ ।’ लक्ष्य भन्दा ६ महिना अगाडि नै आयोजनाको काम सकिने उनले बताए । रसुवा लुना कन्स्ट्रक्सनले सिभिल तर्फको काम गरिरहेको छ ।

आयोजना सम्पन्न गर्न आवश्यक पर्ने पुँजी व्यवस्थापनको काम भइसकेको छ । ५ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने आयोजनाका लागि ७० प्रतिशत रकम (३ अर्ब ५० करोड) बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ । बाँकी ३० प्रतिशत (एक अर्ब ५० करोड) रकम प्रवद्र्धकका तर्फबाट लगानी जुटाइएको छ । एनएमबी बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले आयोजनामा लगानी गर्दैछन् । बुटवल, पोखरा, काठमाडौं, चितवन तथा देशभरका लगानीकर्ता तथा स्थानीयहरुसहित १ हजार ४ सय जनाले आयोजनामा लगानी गरेका छन् । कर्पोरेट लगानीकर्ताहरुमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, साइन रेसुङगा डेभलपमेन्ट बैंक, सेन्टर फाइनान्स, प्रभु इन्स्योरेन्स, सिटिजन इन्स्योरेन्स, रिलायन्स इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स, लुम्बिनी मेडिकल कलेज, न्यु होराइजन कलेज लगायत छन् ।

निर्माणाधीन आयोजनामा सिभिलतर्फ रिसेण्डिङ बेसिन, एप्रोच क्यानल, पावर हाउसको काम धमाधम भइरहेको छ । एलाइमेन्टको काम अगाडि बढिरहेको छ भने ट्रान्समिसनको सर्भेका काम भइरहेको पोखरेलले जानकारी दिए । हाइड्रोमेकानिकलतर्फ मल्टिनेशनल कम्पनी होयल स्पोन कम्पनीबाट पेनस्टक पाइप ल्याउने काम भइरहेको छ । जस अन्तर्गत १३ सय २६ टन पाइप आइसकेको छ भने २८ सय टन पाइप आउने क्रममा छ । स्पाइरल पाइपलाई जोड्ने काम भइरहेको छ । जुन कामका लागि डाउन पारा कम्पनीसँग ठेक्का सम्झौता भएको छ । अष्ट्रियन कम्पनी ग्लोबल हाइड्रोले इलेक्ट्रोमेकानिकल तर्फका सामानहरु उपलब्ध गराउने गरी सम्झौता भइसकेको छ । कम्पनीले २ महिना पछि सामान डेलिभरी गर्नेछ ।

आयोजनाको काम सम्पन्न गर्नका लागि गाउँपालिका, वडा तथा स्थानीयबासीबाट साथ तथा सहयोग प्राप्त भइरहेको अध्यक्ष पोखरेलले बताए । माछापुच्छ्रे गाउँपालिकाको वडा नं. २ मा आयोजनाको ९० प्रतिशत काम हुनेछ भने वडा नं. १, ३ र ४ सँग पनि आयोजना जोडिएको छ ।

आयोजनाको विद्युतगृह सार्दिखोलाको चिन्तेबगरमा २९ रोपनी जमिनमा रहनेछ । जलप्रवाहमा आधारित आयोजनाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत् उत्पादन गरिनेछ । पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिनेछ । उत्पादित विद्युत् चार किमी दूरीमा रहेको लाहाचोकमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जम्मा गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ ।

आयोजनाले उत्पादन गरेको विद्युत् बर्खामा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता छ ।

You might also like

Comments are closed.