भरतपुरमा २ सय ३९ जनालाई छात्रवृत्ति

चितवन । भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत २३९ छात्र–छात्रालाई दुई वर्षका लागि छात्रवृत्ति उपलब्ध गराएको छ । महानगरले सार्वजनिक सूचना जारी गरी संस्थागत विद्यालयमा अध्ययन गर्न चाहेका छात्रछात्रालाई छनोट गरी छात्रवृत्तिको सिफारिस गरेको हो ।

नेपाल सरकारको साविक शिक्षा ऐन र महानगरको शिक्षा ऐन एवं कार्यविधिमा संस्थागत विद्यालयले न्यूनतम १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने उल्लेख छ । हालसम्म ऐनमा भएर पनि कार्यान्वयन हुनसकेको थिएन । संस्थागत विद्यालयमा पहुँचको भरमा केहीलाई छात्रवृत्ति दिइँदै आएको थियो । महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार देशभरका पालिकामा पहिलोपटक महानगरले छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार सार्वजनिक सूचना जारी गरेर विद्यार्थीको छनोट गरी सिफारिस गरेको हो ।

महानगरपालिकाका कक्षा ११ सञ्चालन भएका २८ संस्थागत विद्यालयमा चार हजार ७४७ विद्यार्थी भर्ना भएका छन् । ती विद्यार्थी सङ्ख्याको पाँच प्रतिशत महानगरले छात्रवृत्ति सिफारिस गरेको हो भने बाँकी पाँच प्रतिशत विद्यालयले छात्रवृत्ति दिनेछन् । छात्रवृत्ति पाएकाले भर्ना शुल्क र मासिक शुल्क भुक्तान गर्नु पर्दैन । पौडेलले भने, “छात्रवृत्ति पाएकाको भर्ना र मासिक शुल्क बुझाइएको भए फिर्ता पाइने छ ।” महानगरभित्रका चार दैनिक पत्रिका र छ वटा रेडियोमा सार्वजनिक सूचना जारी गरेर छात्रवृत्तिको आह्वान गरिएको थियो । यसमा २९६ जनाको आवेदन परेको थियो ।

महानगर प्रमुख रेनु दाहालका अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेर छात्रवृत्ति सिफारिस गरिएको हो । त्यसमा जेहेन्दार, गरिब तथा विपन्न, आदिवासी जनजाति, दलित, अपाङ्ग, जनआन्दोलन घाइतेका सन्तति, सहिद परिवार, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइतेका सन्ततिलाई छात्रवृत्ति सिफारिस गरिएको दाहालले बताए । उनले भने, “सुरुमा निजी शिक्षण संस्थाका संचालक सकारात्मक नभए पनि पछि उनीहरु यसमा सकारात्मक भएका छन् ।”

महानगरपालिकाले उपलब्ध गराएको संख्या बराबर विद्यालयले समेत छात्रवृत्ति दिने हुँदा लक्षित वर्ग लाभान्वित भएको उनको भनाइ छ । हालसम्म कुनै पनि पालिकामा लागू गर्न नसकिएकामा महानगरपालिकाले छात्रवृत्ति व्यवस्थापन कार्यविधि बनाएर छात्रवृत्ति वितरण गरेको उनले बताए । यसले विद्यार्थी लाभान्वितसँगै नयाँ पद्दतिको थालनी सुरु गरिएको उनले जानकारी दिए ।

एसइईको प्राप्ताङ्क जिपिएका आधारमा विद्यार्थी छनोट गरिएको हो । महानगरपालिकाभित्र सरकारी तहमा कक्षा ११ पढाइ हुने विद्यालय ५१ रहेका छन् । ती विद्यालयले पनि छात्रवृत्ति दिँदै आएका छन् । कक्षा ११ मा निजी विद्यालयले वार्षिकरूपमा एक विद्यार्थीसँग रु एक लाख हाराहारी शुल्क लिँदै आएका छन् । सो शुल्कमध्ये भर्ना र मासिक शुल्क छात्रवृत्ति पाएकाले तिर्नु नपर्ने भएको हो । कक्षा ११ मा छात्रवृत्ति पाएकाले १२ मा पनि स्वतः पाउनेछन् ।

You might also like

Comments are closed.