फोहर व्यवस्थापनको जिम्मा क्लिन गोरखा प्रालिलाई

गोरखा । गोरखा नगरपालिकाले नगर क्षेत्रभित्रका फोहर व्यवस्थापन गर्ने जिम्मा निजी क्षेत्रलाई दिएको छ । नगरपालिकाले फोहर सङ्कलन तथा व्यवस्थापन गर्नेलगायतका सबै जिम्मेवारी क्लिन गोरखा प्रालिलाई दिएको हो । नगरवासीले फोहर व्यवस्थापन गर्न नगरपालिकाले नसकेको आरोप लगाइरहेका थिए ।

नगरपालिकाका वातावरण अधिकृत ध्रुव घिमिरेले निजी क्षेत्रसँग सम्झौता गरी यही कात्तिक १६ गतेदेखि फोहर उठाउने सबै जिम्मेवारी दिएको उनले जानकारी दिए । “अबदेखि नगरपालिकाभित्रका १४ वटै वडाको फोहर सङ्कलन गर्ने काम प्रालिले गर्छ”, उनले भने, “प्रालिले नै नगरवासीसँग फोहर व्यवस्थापनको शुल्क लिनेछ ।”

सो कम्पनीले नगरपालिकामा दुई लाख रुपैयाँ धरौटी राखेर फोहर सङ्कलन सुरु गरिसकेको छ । “अहिले सम्झौताअनुसार धरौटी रकम राखेर प्रालिले काम सुरु गरिसकेको छ”, उनले भने, “सम्झौता लागू भएको छ महिनासम्म नगरपालिका हाल नगरपालिकामा कार्यरत सरसफाइमा खटिँदै आएका सात कर्मचारीलाई प्रालि र नगरपालिकाले आधा/आधा तलब खुवाउने र पछि प्रालिले नै तलब खुवाउनु पर्नेछ ।”

नगरपालिकाले प्रयोग गर्दै आएको फोहर उठाउने एउटा ट्र्याक्टर र टिपरसमेत एक वर्षका लागि सो कम्पनीलाई प्रयोग गर्न दिने र एक वर्षपछि भने उसले नगरपालिकाले निर्धारण गरेअनुसारको मासिक भाडा नगरपालिकालाई बुझाउने गरी सम्झौता भएको उनले बताए । कम्पनीले नगरपालिकाको मापदण्डभित्रै रहेर नगरवासीसँग फोहर व्यवस्थापनका लागि शुल्क लिने अधिकृत घिमिरेले जानकारी दिए ।

नगरपालिकाले कम्पनीसँग पाँच वर्षका लागि फोहर व्यवस्थापन गर्ने गरी सम्झौता गरेको उनले बताए । “नगरवासीसँग फोहर सङ्कलनवापतको शुल्क उठाउन प्रालिलाई नगरपालिकाले रसिद प्रमाणित गरिदिन्छ”, अधिकृत घिमिरेले भने, “त्यही रसिदमार्फत भुक्तानी लिने र सङ्कलन भएको रकमको २० प्रतिशत प्रत्येक चौमासिकमा नगरपालिकामा बुझाउनुपर्ने गरी सम्झौता भएको छ ।”

कम्पनीले फोहर व्यवस्थापनका काम सुरु गरेसँगै नगर क्षेत्रलाई सरसफाइमा नेपालको उत्कृष्ट बनाउन प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले आफ्नो घरबाट निस्कने फोहरलाई कुहिने र नकुहिने छुट्याइ कर्मचारीलाई सहयोग गरिदिन पनि नगरवासीलाई अनुरोध गरेको छ । फोहर व्यवस्थापन शुल्कवापत नगरवासीले सदस्यता शुल्क २ सय रुपैयाँ तिर्नुपर्ने र निजी तथा व्यक्तिगत प्रयोजनको घर/प्रतिपरिवार मासिक सय, चिया पसल फुटपाथ पसलले १ सय५० रुपैयाँ, व्यावसायिक पसल प्रत्येक सटर, वित्तीय सङ्घसंस्थाले २ सय रुपैयाँ, रेष्टुरेन्ट, मासु, तरकारी, फलफूल पसल, सैलुन, ब्यूटीपार्लरले ३ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने जनाएको छ ।

यसबाहेक मोटरसाइकल ग्यारेज, लजसहितको सामान्य होटल, क्लिनिकको समान्य फोहर भएकाहरुले मासिक ५ सय रुपैयाँ, गाडी ग्यारेज, लजसहितका ठूला होटलले मासिक एक हजार रुपैयाँ र हस्पिटल, नर्सिङहोमले मासिक दुई हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने उल्लेख छ । घरबाट निस्कने कवाडी सामग्रीसमेत उचित मूल्य दिएर कम्पनीले खरिद गर्ने भएकाले बाहिरबाट आउने व्यक्तिलाई बिक्री वितरण नगर्नसमेत आग्रह गरेको छ । यसअघि नगरपालिका आफैँले नगर क्षेत्रभित्रको फोहर व्यवस्थापन गर्दै आएको थियो ।

You might also like

Comments are closed.