थप २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा १० हजार ७ सय ४७ जनाको नमूना परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४६ लाख ६२ हजार ६ सय ८० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या सात लाख ४२ हजार २ सय ४ पुगेको छ । पछिल्लो समय थप ४ सय ३६ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख चार हजार ५ सय ४४ पुगेको छ । निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५७ हजार ९ सय ३० रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ५ सय ७ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एकजनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४१ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा छ हजार १ सय ६३, संस्थागत आइसोलेसनमा ३४४, सघन उपचारकक्षमा १ सय ७ र भेन्टिलेटरमा २८ जनाको उपचार हुँदैछ ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौं र ललितपुर रहेका छन् भने २ सय भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, नवलपरासी (पूर्व), बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, मुगु र सल्यान रहेका छन् ।

lcci
You might also like

Comments are closed.