सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने : खाद्य संस्थान

महेन्द्रनगर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ ।

कैलाली/कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जनाएको हो । गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बेमौसमी वर्षाका कारण ६९ हजार २ सय ७३ मेट्रिकटन धान क्षति भएको थियो । यहाँ छ हजार क्विन्टल धान खरिदको कोटा पाएको कम्पनीले मापदण्डका आधारमा एक सातादेखि धान खरिद गरिरहेको सो कार्यालयका प्रमुख प्रचण्ड उपाध्यायले जानकारी दिए ।

“हामीले मापदण्डमा रहेर राम्रो धान खरिद गर्ने हो”, उनले भने, “किसान राम्रोदेखि भिजेको धानसमेत ल्याउँदा छान्नु परेको छ ।” उनले प्रतिक्विन्टल दुई हजार ७ सय ५२ धान खरिद गरिरहेको जानकारी दिए । यता किसानले धान बिक्रीमा समस्या भइरहेको गुनासो गरे । यहाँको भीमदत्त नगरपालिका–१३ का रामबहादुर जोशीले धान बिक्री गर्दा समस्या हुनुका साथै लागत अनुरुपको मूल्यसमेत नपाइरहेको बताए ।

कृषि ज्ञानकेन्द्र कञ्चनपुरका प्रमुख डा डिलबहादुर विष्टले यसपटक एक लाख ९३ हजार ९ सय ८४ मेट्रिकटन धान यहाँ उत्पादन भएको जानकारी दिए । “उत्पादन भएकामध्ये ६९ हजार २ सय ७३ मेट्रिकटन क्षति भयो”, उनले भने, “कूल ४८ हजार ४ सय ९३ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामध्ये करिब ३५ प्रतिशत क्षति हुन पुग्यो ।” धानखेती समेट्ने बेला आएको वर्षात्ले खेतमै धान कुहिनुका साथै बाढीलेसमेत बगाएर लगेको थियो ।

lcci
You might also like

Comments are closed.