महिला तथा अपाङ्गता भएकालाई उद्यमी बनाउनु पर्छ : मन्त्री रेग्मी

चितवन । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले उद्योग क्षेत्रमा महिला र अपाङ्गता भएका व्यक्तिको समेत सहभागिता हुनु जरुरी रहेको बताएकि छिन् । चितवन उद्योग सङ्घले शुक्रबारदेखि यहाँ सुरु गरेको छैठौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले औद्योगिक क्षेत्रमा महिला र अपाङ्गता भएकाको समेत सहभागिता आवश्यक रहेको बताएकि हुन् ।

उद्योगलाई महिला र अपाङ्गमैत्री बनाउन सकेमा मात्रै सबै क्षेत्रको सहभागिता हुने उनको भनाइ थियो । उनले भनिन्, “अब स्थापित हुने उद्योग महिला र अपाङ्गमैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा सोचेर उनीहरुलाई पनि उद्योगी बनाउन जरुरी रहेको छ ।”

प्रदर्शनीले नेपालमा नै केही गर्न सकिन्छ भन्ने देखाउन सहयोग पुग्ने जनाउँदै उनले आफ्नै मुलुकको उत्पादनलाई प्राथमिकता दिन जरुरी रहेको बताइन् ।

शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणका लागि आफुले सरकारलाई झकझक्याउने उनको भनाइ थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेलले उद्योगका क्षेत्रमा उद्योग सङ्घले गरेका कामको प्रशंसा गरे । नेपालमा रहेका उद्योगलाई विदेशी उद्योगसँग प्रतिस्पर्धायोग्य बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

सो अवसरमा उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेलले उद्योग क्षेत्रले गरेको प्रगतिले आयात र निर्यातलाई सन्तुलन राख्ने गरि काम गर्नुपर्ने बताए । उद्योग क्षेत्रको विकासका लागि मन्त्रालय रचानात्मक सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

lcci
You might also like

Comments are closed.