पर्वत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

पर्वत । जिल्ला अस्पतालमा दुई करोड रुपैयाँ बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय अन्र्तगत पर्वत जिल्लामा क्रियाशील आठ लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिय(एलआइसिएफ) कोषको विशेष आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको हो । लायन्स क्लबको तर्फबाट नेपालमा सबैभन्दा ठूलो सहयोग सो अस्पताललाई गरिएको छ ।

सांसद पदम गिरी र कुश्मा नगरपालिकाले पनि आर्थिक सहयोग गरेको बताइएको छ । जिल्ला अस्पतालमा आइतबार आयोजित एक कार्यक्रमका उक्त सामग्री हस्तान्तरण गरिएको हो । लायन्स क्लबको तर्फबाट एक करोड १६ लाख ३८ हजार १ सय २० रुपैयाँ, सांसद गिरीमार्फत स्थानीय पूर्वाधार विकास साभेदारी कार्यक्रमअन्तर्गत विनियोजित ३५ लाख रुपैयाँ, कुश्मादे १५ लाख रुपैयाँ र स्थानीय लायन्स तथा लियो क्लबको जोड कोष ३३ लाख २५ हजार ९ सय ९५ रुपैयाँ सहित एक करोड ९९ लाख ६४ हजार १ सय १५ रुपैयाँको लागतका स्वास्थ्य उपकरण सहयोग गरिएको परियोजनाका अध्यक्ष बसन्तकुमार कर्माचार्यले जानकारी दिए ।

जिल्ला अस्पतालको मागअनुसार १२ प्रकारका १३ थान अस्पताल उपकरण र चार प्रकारका २४ थान फर्निचर अस्पताललाई प्रदान गरिएको दाता संस्थाले जनाएका छन् । अत्याधुनिक एक्सरे, इसिजी, भेन्टिलेटर, अप्रेशन थिएटर, आइसियु बेड लगायतका सामग्री हस्तान्तरण गरिएको हो । लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्वअन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान तथा सांसद पदम गिरीबाट सामग्री हस्तान्तरण गरिएको हो । परियोजना अध्यक्ष तथा लायन्स लिडर वसन्तकुमार कमाचार्यका अनुसार अस्पतालमा आवश्यक सामग्रीले यहाँ आउने बिरामीले सुविधा पाउने बताए ।

लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्वअन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले लायन्स क्लब निस्वार्थ भावनाले सामाजिक विकासका काममा लाग्दै आएको बताए । उनले नेपालमै सबैभन्दा बढी सहयोग पर्वत अस्पतालमा गर्न सकिएको बताए । सांसद पदम गिरीले पर्वत अस्पताल सुविधा सम्पन्न बन्दै गएकोमा आफूलाई सबैभन्दा बढी खुशी लागेको बताए । जिल्ला अस्पतालमा उपकरणको अभाव नरहेकाले अब सेवा सुविधामा ध्यान दिन अस्पताल प्रशासनलाई अनुरोध गरे ।

कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर विश्वेस्वर आचार्य, संविधानसभा सदस्य कल्पना चापागार्इं, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेलगायत पनि अस्पतालको गुणस्तर वृद्धिमा ध्यान दिन आग्रह गरेका थिए । अस्पतालमा सुविधा सम्पन्न नयाँ भवन निर्माण सम्पन्न हुने चरणमा छ । उपकरणले भरिपूर्ण भएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकको अभाव रहेको छ ।

lcci
You might also like

Comments are closed.