स्वरोजगार बन्दै दलित महिला    

भेषराज बस्नेत, राँझा । बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर निवासी पदमीकला कामीले पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिकरूपमा कृषि पेशामा होमिएकि छिन् । अहिले उनको फार्ममा ४२ बाख्रा, छ हजार कुखुरा र हाँस छन् । बाख्रा, कुखुरा, हाँसपालन गरेरै जीविकोपार्जन गर्दै आएको उनले बताइन् । लोकल र कडकनाथ जातको कुखुरा खरिद गर्न व्यापारी घरमै पुग्ने गरेको उनले जानकारी दिइन् ।

गाभर दलित महिला समूहमा आवद्ध उनले आफूसहित घरका चार जनालाई कामले भ्याइनभ्याई हुने गरेको बताइन् । “बाख्रा चराउन, घाँस काट्न, कुखुरालाई दानापानी खुवाउने कामले फुर्सद नै हुँदैन । हामीले घरमै स्थानीय चारो बनाएर कुखुरापालन गर्दै आएका छौँ”, पदमीकलाले भनिन् । खजुरा गाउँपालिका–६ सिमलघारी निवासी सुनिता विकले दुई वर्ष भयो नास्ता पसल सञ्चालन गरेको छ । सिमलघारी चोकमै रहेको पसलबाट अहिले दैनिक दुई हजार रुपैयाँ देखि दुई हजार ५ सय रुपैयाँ सम्मको बिक्री हुने गरेको उनको भनाइ छ ।

सिर्जनशील दलित महिला समूहका सचिवसमेत रहेकी सुनिताका श्रीमान् खाडी मुलुक कतार पुगेका छन् । “समूहमा लागेर नास्ता पसल सञ्चालन गर्ने सोच आएको हो, अहिले राम्रो भएको छ । घर खर्च र बाबुलाई स्कुल पढाउन नास्ता पसलबाटै पुगेको छ, श्रीमान्ले कमाएको पैसा चोखै बचाएर राखेकी छु”, उनले भनिन् । पदमीकला र सुनिताजस्तै बाँकेको खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकाका केही दलित महिला विभिन्न व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न थालेका छन् ।

थोरै पैसाका लागि पनि विगतमा श्रीमान्को भर पर्दै आएका दलित महिला अहिले कुखुरापालन, तरकारी खेती, सौन्दर्य कला, होटल व्यवसायलगायत विभिन्न व्यवसाय सञ्चालन गरी घरको आर्थिक व्यवहार सञ्चालन गरेका छन् । दलित महिला सङ्घ (फेडो)ले सञ्चालन गरेको दलित तथा सीमान्तकृत समुदाय र महिलाको स्रोत र सेवामा पहुँच अभिवृदि कार्यक्रमअन्तर्गत गाउँ–गाउँमा गठन भएका समूहमा आवद्ध भएर दलित महिला सामाजिक तथा आर्थिकरूपमा सशक्तीकरणको बाटोमा लम्किएका छन् ।

विगतमा रोजगारीका अवसर नभएको भन्दै भारत जाने या त खाली समय घरमा बसेर बिताउने विपन्न वर्गका दलित महिलासमेत पछिल्लो समय गाउँ–गाउँमा महिला समूह निर्माण गरी स्वरोजगारमूलक व्यवसायमा संलग्न भएको खजुरा गाउँपालिका–६ स्थित दलित कृषक समूहका अध्यक्ष देवी विकले बताइन् । “दलित महिलालाई आम्दानीको स्रोतको सिर्जना गरी विभिन्न पेशा व्यवसायमा संलग्न गराउन समूहबाट ऋण लगानीसमेत गर्ने गरिएको छ”, उनले भनिन्, “समूहबाट ऋण लिएर व्यवसाय गरेपछि धेरै जनालाई जीविकोपार्जनमा सहज भएको छ ।”

 

lcci
You might also like

Comments are closed.