खोप किन्न दुई अर्ब १४ करोड ऋण

काठमाडौं । नेपाल सरकारले विश्व बैंकसँग रु दुई अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरे ।

उक्त ऋण कोभिड–१९ विरुद्धको खोप खरिदका लागि उपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

“कोभिड–१९ महामारीले सिर्जना गरेको निरन्तर बदलिँदो परिस्थितिमा समेत नेपालले प्रभावकारीरूपमा प्रतिकार्य जारी राखेको छ”, हस्ताक्षर समारोहमा अर्थसचिव मरासिनीले भने। नेपालले १२ वर्षभन्दामाथिका व्यक्तिलाई कोभिड–१९ विरुद्धको सुरुवाती साथै ‘बुस्टर’ मात्रासमेत प्रदान गर्ने कार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेको उनले जानकारी दिए ।

राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकबाट प्राप्त हुने ऋण सहायताबाट नेपालको ठूलो जनसङ्ख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गरे । उनले कोरोना भाइरसको विभिन्न स्वरुपले अर्थतन्त्र तथा सामान्य जीवनयापनमा समस्या सिर्जना गरिरहेकाबेला यस्ता वित्तीय सहायता महत्वपूर्ण हुने बताए ।

You might also like

Comments are closed.