सुनको मूल्य प्रतितोला एक लाख रूपैयाँ नाघ्यो

काठमाडौं । सुनचाँदी बजारमा आइतबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख एक हजार ९ सय पुगेको छ ।

अघिल्लो दिन प्रतितोला ९९ हजार ९ सय रूपैयाँमा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला दुई हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ४ सय रूपैयाँ तोकिएको छ । सोको मूल्य गत शुक्रबार प्रतितोला ९९ हजार ४ सय रूपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ ले बढेर एक हजार ४ सय १५ रूपैयाँ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

विश्व बजारमा सुनचाँदीको मूल्य बढेअनुसार नै आज नेपालको बजारमूल्यमा प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले बताए । आज अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस एक हजार ९ सय ७० डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.