दमौली । तनहुँको घिरिङ गाउँपालिका–३ मा खोला थुनेर ताल निर्माण सुरु गरिएको छ । उक्त ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले खोला थुनेर कृत्रिम ताल निर्माण सुरु गरेको हो । कृत्रिम ताल निर्माणका लागि गाउँपालिकाले गत वर्ष नै डिपिआर तयार गरेको थियो ।
टेण्डर प्रक्रियामार्फत गोफाखोला थुनेर ताल बनाउने काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । डिपिआरअनुसार ताल निर्माणका लागि करिब १३ करोड रूपैयाँ बजेट अनुमान गरिएको छ । पर्याप्त बजेट नभएकाले वर्षेनी बजेट विनियोजन गरेर ताल निर्माण गरिने बताइएको छ ।
ताल निर्माणका लागि हालसम्म तीन करोड ३३ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारबाट एक करोड रूपैयाँ, चालू आर्थिक वर्षमा ८० लाख रूपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाबाट एक करोड रूपैयाँ र चालू आर्थिक वर्षमा गाउँपालिकाबाट ५३ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।
चालू आवमा ९९ लाख ८१ हजार २ सय ५६ रूपैयाँको काम हुनेछ । विसं २०७९ असार १५ गतेभित्र काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए । “बजेट अभावका कारण चार/पाँच वर्षभित्र ताल निर्माणको काम सम्पन्न हुने अनुमान गरिएको छ, पर्याप्त बजेट नभएकाले वर्षेनी बजेट राखेर काम अगाडि बढाउँछौँ”, श्रेष्ठले भने । उनासी रोपनी क्षेत्रफलमा ताल निर्माण गर्ने योजना छ । ताल वरपर पूर्वाधार निर्माणका लागि गाउँपालिकाले गत आवमा ३० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो ।
उक्त बजेटले ताल निर्माण हुने गोफा खोलाको चारैतर्फबाट मोटरबाटो पु¥याइएको छ । “यहाँका बासिन्दा बसाइँसराइ सरेर अन्यत्रै गएका छन्, गाउँबस्ती रित्तो हुनेक्रम बढ्दो छ, ताल निर्माणपछि गाउँ छाडेका मानिस फिर्ता हुने विश्वास गरेका छौँ”, गाउँपालिकाका अध्यक्ष रानाले भने । गाउँपालिकाले खोला वरपरको ४५ रोपनी जग्गा अधिग्रहण गर्नेछ ।
गाउँपालिका अध्यक्ष रानाका अनुसार उक्त जग्गाको रोपनीको एक लाख रूपैयाँका दरले मुआब्जा दिने सहमति भएको छ । “मुआब्जा दिएपछि जग्गा गाउँपालिकाको हुने र तालबाट हुने आम्दानी गाउँपालिकाले प्रयोग गर्नेछ”, उनले भने ।
घुमाउने ताल नामकरण गरिएको तालका बीचमा मन्दिर बनाउने योजना बनाइएको छ । “डुङ्गा चढेर तालका बीचमा रहने मन्दिरमा सर्वसाधारणले दर्शन गर्न सक्नेछन्, उक्त ताललाई पोखराको फेवाताल जस्तै गरि विकास गरिनेछ”, अध्यक्ष रानाले भने । उहाँका अनुसार ताल वरपरका क्षेत्रमा रेष्टुरेन्ट, वनभोजस्थल लगायतका पूर्वाधार निर्माण गरिने छन् ।
गाउँपालिकामा प्राकृतिक पुल, तालैताल, चौबिसे राज्यअन्तर्गतको घिरिङकोट दरबारलगायत पर्यटकीयस्थल छन् । घिरिङकोट दरबारमा दृश्यावलोकन स्तम्भ निर्माण गर्ने योजना गाउँपालिकाले अगाडि सारेको छ । घिरिङकोट दरबारबाट तनहुँका साथै स्याङ्जा, कास्की, पाल्पा, गोरखा, लमजुङका केही भूभाग अवलोकन गर्न सकिन्छ ।
Comments are closed.