मदाने गाउँपालिका खरका छानामुक्त

तम्घास । गुल्मीको मदाने गाउँपालिका खरका छानामुक्त गाउँपालिका घोषणा भएको छ । पालिकाभित्रका सबै घरमा रहेका खरका छाना विस्थापित गरी जस्तापाता लगाएर सकिएपछि बिहीबार पालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको हो ।

सांसद गोकर्ण विष्टले मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी र उपाध्यक्ष सरिता खड्कालाई खरका छानामुक्त गाउँपालिका भएको पत्र हस्तान्तरण गरे ।

खरका छाना विस्थापन गरी जस्तापाता लगाउने कार्यक्रमअन्तर्गत पालिकाका सबै वडामा ७ सय २९ परिवारले जस्तापाता लगाएका छन् । उक्त कार्यका लागि विभिन्न आर्थिक वर्षमा गाउँपालिकाको दुई करोड ८४ लाख ३७ हजार ४ सय २० रूपैयाँ खर्च भएको छ । आव २०७४/०७५ मा नौ लाख ६९ हजार ७ सय ३८, ०७५/७६ मा २३ लाख ७८ हजार ६० एवं ०७६/०७७ मा रु एक करोड ६३ लाख ६६ हजार ६ सय २२ खर्च भएको गाउँपालिका उपाध्यक्ष खड्काले जानकारी दिईन् ।

गाउँपालिकाका कूल ७ सय २९ घरले खरको छाना हटाएर निःशुल्क जस्तापाता लगाएका छन् । गाउँपालिकाको वडा नं १ अग्लुङमा १ सय ४१, वडा नं २ बाँझकटेरीमा १ सय ८०, वडा नं ३ सिर्सेनीमा १ सय ४५ वटा घरले खरको छानो हटाएर जस्तापाता लगाएका छन् ।

त्यस्तै वडा नं ४ म्यालपोखरीमा ३२, वडा नं ५ मलयागिरीमा १ सय ७, वडा नं ६ पुर्काेटदहमा ५२ र वडा नं ७ भनभनेमा ७० वटा घरले खरको छानो हटाएर जस्तापाता लगाएको गाउँपालिकाले जनाएको छ ।

पालिकाभित्र विभिन्न कार्यक्रममार्फत थप ३ सय २५ वटा घर निर्माण गरिएको छ । एकीकृत बस्तीअन्तर्गत १७, भूकम्पपश्चात् निजी आवासअन्तर्गत १ सय ४१, सुरक्षित नागरिक आवासअन्तर्गत १ सय २८, जनता आवासअन्तर्गत सात र नमूना बस्तीअन्तर्गत ३२ घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष केसीले बताए ।

सांसद विष्टले गरिबी र अभावका बीचमा पनि ग्रामीण भेगमा जस्तापाता लगाउनु ठूलो सफलता भएको जानकारी दिए । “खरको छानो भएको घरमा हुने पीडाबाट बाहिर निस्कन सकेका छौँ”, उनले भने, “जिल्लाभर सबै पालिकामा खरको छानोमुक्त बनाउने अभियान चलिरहेको छ ।” मदाने खरको छानोमुक्त हुने जिल्लाको दोस्रो स्थानीय तह हो । यसअघि जिल्लाको धुर्काेट गाउँपालिका खरको छानामुक्त घोषणा भइसकेको छ ।

You might also like

Comments are closed.