बजेट अभावमा संग्रहायल निर्माण अलपत्र

रत्ननगर । सबभन्दा पुरानो मानिएको बखान सहकारी संस्था लिमिटेडले स्थापना गर्न लागेको राष्ट्रिय सहकारी संग्रहायल बजेट अभावमा अलपत्र परेको छ ।

चितवनको भरतपुर–१९ स्थित शारदानगरमा स्थापना गर्न लागिएको संग्रहायल बजेट अभाव भएपछि अलपत्र परेको सहकारीका अध्यक्ष रेशमराज गुरुङले बताए ।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचन अघि नेपाल सरकारबाट पाँच करोड रूपैयाँ निकासा भएर स्थापना गर्न लागिएको संग्रहायलको काम अधुरै छ । पाँच करोडमा सङ्ग्रहालयको ठूलो बैठक कक्ष, साना बैठक कक्ष, विशिष्ठ व्यक्तिका लागि बस्ने कोठा, कार्यालय कक्ष र अन्य केही कोठा निर्माण गरिए पनि थप बजेट निकासा नहुँदा संग्रहायल निर्माणले मूर्तरुप लिन नसकेको उनको गुनासो थियो ।

सुरुमा सरकारले प्रदान गरेको बजेटबाट करिब आधा काम सकिए पनि थप बजेट नआउँदा सङ्ग्रहालय निर्माणको काम अलपत्र परेको अध्यक्ष गुरुङले बताए ।

संग्रहायल निर्माणका लागि थप रु पाँच करोड लाग्ने बताइएको छ । उक्त संग्रहायलमा फर्निचर, बिजुली बत्ती, भवनको प्लास्टरसँगै रङरोगनलगायत पर्खाल निर्माणको काम बाँकी रहेको छ । देशका ७७ वटै जिल्लाको चिनारी झल्किनेगरी राष्ट्रिय सहकारी संग्रहायल निर्माणको काम अगाडि बढाइएको उनको भनाइ थियो । सबै जिल्लाका कृषिलाई प्राथमिकता दिएर संग्रहायल निर्माणको काम अगाडि बढाइने सहकारीको योजना थियो ।

You might also like

Comments are closed.