गाउँमै स्वास्थ्योपचार : स्थानीयवासी खुसी

सिन्धुपाल्चोक । थाङ्पाल गाउँपालिकाले स्वास्थ्य सेवामा उदाहरणीय काम गरेको छ । यहाँका १२ स्थानीय तहमध्ये सो गाउँपालिकाले प्रदान गरेको स्वास्थ्य सेवाबाट स्थानीयवासी खुसी छन् । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पालिकामै पाँचपोखरी प्राथमिक अस्पतालको सेवा पाउन थालेपछि स्थानीयवासी कल्पना पण्डितले खुसी व्यक्त गरे ।

गाउँपालिका–६ का बलबहादुर आचार्य लामो समयदेखि दमको समस्याले पीडित थिए । यसअघि मेलम्ची, धुलिखेल तथा काठमाडाैं गएर उपचार गराउँदै आएका उनी अहिले गाउँपालिकामै निःशुल्क खाना, खाजाको सुविधासहित सेवा लिन पाउँदा मख्ख परेका छन् । उनले स्थानीय तहले राम्रो काम गर्दै गएको समेत बताए ।

कोरोना महामारीको बेला कोभिड अस्पतालका रूपमा सञ्चालित यस अस्पतालबाट अहिले सबैखाले सेवा प्रदान गर्न थालिएको छ । सीमित स्रोतसाधन र जनशक्तिबाट अहिले पनि कोभिडसँगसँगै अन्य सेवा प्रदान गरिरहेको अस्पतालका प्रमुख डा सोनाली खतिवडाले जानकारी दिईन् ।

पाँचपाखोरीका आठवटै वडामा सुविधासम्पन्न सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर)को व्यवस्था छ । निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको पालिकाले स्वास्थ्यका क्षेत्रमा धेरै काम गरेको अध्यक्ष टासी लामाले दाबी गरे । उनले भने,“ स्वास्थ्यलाई मुख्य प्राथमिकता दिएर निःशुल्क उपचार सेवा प्रदान गरिरहेका छौँ ।” नागरिकले ठूला विकासको अपेक्षा गरेका छैनन् ।

केबल शिक्षा, स्वास्थ्यलगायतका विषयमा आधारभूत सुविधा पाए स्थानीय तह भएको महसुस गर्न सकिने उनीहरूले बताएका छन् । नागरिकका समस्यालाई स्थानीय सरकारले बुझ्न सके राम्रो हुने उनीहरूको प्रतिक्रिया छ ।

You might also like

Comments are closed.