२० हजार घरधुरी लाभान्वित

तनहुँ । तनहुँ विद्युतीकरण आयोजनाबाट बीस हजार एकसय घरधुरीका झण्डै एक लाख बढी मानिस प्रत्यक्ष लाभान्वित भएका छन् । जिल्लाका दश पालिकामध्ये ऋषिङ्, घिरिङ्, आँबुखैरेनी, बन्दिपुर, व्यास, देवघाट र भीमाद नगरपालिकासहित सात पालिकाका मानिस लाभान्वित भएका हुन् ।

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित भएका क्षेत्रका मानिस लामो समयदेखि अन्धकारमय जीवन बिताउँदै आएकोमा घरघरमा बिजुली पुगेपछि खुसी भएका छन् ।

आयोजनाबाट प्रभावित क्षेत्रमा तनहुँ विद्युतीकरण आयोजनाले विद्युतीयकरणको जिम्मा पाएपछि बिजुली विस्तार गरिएको हो ।

आयोजनाले करिब चार वर्षमा त्यसक्षेत्रमा विद्युत् विस्तार गरेको तनहुँ विद्युतीकरण आयोजनाका इञ्जिनीयर कपिल पाण्डेले जानकारी दिए । आयोजनासँग गरेको सम्झौता अवधि समापन हुँदै गर्दा आफ्नो जिम्मामा रहेको काम सम्पन्न गरेको उनले बताए ।आयोजनाबाट प्रभावित क्षेत्रमा विद्युतीकरणको जिम्मा पाएको उक्त आयोजनाले सम्झौता अवधिभित्र काम सम्पन्न गरेको हो । बन्दिपुरको साराङ्गघाट र घिरिङमा दुई वटा सवस्टेशन निर्माण गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारबाट घिरिङग र आँबुखैरेनी गाउँपालिकाको सत्रसयबाट साराङघाटको सवस्टेशनमा ३३ केभी लाइन जोड्नको लागि वातावरणीय अध्ययन गर्ने कार्य भइरहेको उनले जानकारी दिए । करिब एक महिनाभित्र बाँकी रहेका सबै कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । तनहुँ विद्युत् प्राधिकरण तनहुँले यही आर्थिक वर्षको आसारमसान्तभित्र तनहुँलाई अन्धकारमुक्त बनाउने लक्ष्य लिएको प्राधिकरणका निमित्त प्रमुख एवं इञ्जिनीयर रामबाबु चौधरीले जानकारी दिए ।

You might also like

Comments are closed.